राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा टोली गठन गरेको हो।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले विभिन्न मागहरू राखेर आन्दोलनको घोषणा गरेका थिए।
उनले गत साउन २९ गते राष्ट्रिय मानव अधिकार आयोगमासमेत विभिन्न मागहरू प्रस्तुत गरेका थिए।
सोही सन्दर्भमा वार्ता गरी समस्या समाधानका लागि सहजीकरण गर्न नेपाल सरकारको तर्फबाट वार्ता टोली गठन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
वार्ता टोलीमा गृह मन्त्रालयका सहसचिव ज्ञानेन्द्र काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य रहेका छन्।







