जर्मन क्लब बायर्न म्युनिखका स्टार खेलाडी जमाल मुसियाला मैत्रीपूर्ण खेलका क्रममा पुनः मैदानमै ढलेपछि उनको स्वास्थ्यलाई लिएर ठूलो चिन्ता पैदा भएको छ।
चार दिनको अन्तरालमा उनी मैदानमा यसरी ढलेको यो दोस्रो पटक हो। आरबी लेइपजिग विरुद्धको खेलमा भएको यस्तै घटनाको ठीक चार दिनपछि हाइडेनहाइम विरुद्धको खेलमा उनी फेरि बेहोस भएका हुन्।
खेलको ६८ औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेको मात्र आठ मिनेटमै मुसियाला अचानक भुइँमा ढलेका थिए। उनलाई त्यस्तो अवस्थामा देखेपछि टोलीका साथीहरू र मेडिकल टिम तुरुन्तै मैदानमा पुगेका थिए।
मेडिकल टिमको प्राथमिक उपचारपछि मुसियाला तङ्ग्रिए र डाक्टरको सहयोगमा आफैं हिँडेर ड्रेसिङ रुम तर्फ लागे। त्यसपछि उनलाई प्रतिस्थापन गरियो र उनी खेलमा फर्किएनन्। यो खेल बायर्न म्युनिखले ४-२ ले जित्यो। यसअघि लेइपजिग विरुद्धको खेलमा पनि उनी गोल गरेपछि मैदानमै ढलेका थिए। सुरुमा यसलाई गर्मी र डिहाइड्रेसन (पानीको कमी) का कारण भएको भनिएको थियो।
आफ्नो स्वास्थ्यबारे सर्वत्र चिन्ता बढ्न थालेपछि मुसियालाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत स्पष्ट पारेका छन्। उनले आफूलाई ‘एब्सेन्स सिजर्स’ नामक समस्या भएको बताएका छन्, जुन स्नायु प्रणाली (न्युरोलोजिकल) सँग सम्बन्धित छ।
उनले लेखेका छन्, ‘मलाई छोटो समयका लागि हुने तर उपचार गर्न सकिने ‘एब्सेन्स सिजर्स’ को समस्या देखिएको छ। लेइपजिग र हाइडेनहाइम विरुद्धका खेलमा म ढल्नुको कारण यही नै हो। हेर्दा यो डरलाग्दो देखिए पनि अहिले यो मेरो दैनिक जीवनको हिस्सा जस्तै भएको छ।’
मुसियालाले थप भने, ‘मेरो उपचार भइरहेको छ र म यसलाई लिएर निकै सकारात्मक छु। बायर्न म्युनिख र मेरो परिवार मेरो साथमा छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, यसबाट दीर्घकालीन रूपमा मेरो स्वास्थ्यमा कुनै ठूलो जोखिम छैन।’
२३ वर्षीय मुसियालाले विशेषज्ञ डाक्टरहरूको सल्लाह र अनुमतिमै आफूले फुटबल खेल्न जारी राख्ने इच्छा व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘आफ्नो जीवन सामान्य रूपमा जिउनु र फुटबल खेल्नु नै मेरो निको हुने प्रक्रियाको सबैभन्दा राम्रो औषधि हो।’
बायर्नका खेलकुद निर्देशक म्याक्स एबर्लले पनि क्लबलाई यसबारे पहिले नै जानकारी रहेको र क्लबले मुसियालालाई पूर्ण सहयोग गरिरहेको बताएका छन्। मुसियालाले सन् २०२५ को क्लब वर्ल्ड कपमा गोलीगाँठो भाँचिएका कारण लामो समय मैदान बाहिर बिताउनुपरेको थियो, तर त्यसपछि फर्किएर उनले २०२६ को विश्वकपमा जर्मनीका लागि राम्रो प्रदर्शन गरेका थिए।








