दाङ — लुम्बिनी प्रदेशमा नेकपाका तीन मन्त्री थपिने भएका छन् भने केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनका लागि सोमबार नेकपाका तीन जनाको नाम प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट थपिएका दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ । नयाँ नियुक्त भएका मन्त्रीहरूको पद तथा गोपनियताको शपथग्रहण प्रदेश प्रमुखको कार्यालय बुटवलमा मंगलबार दिउँसो ३ बजेर २५ मिनेटमा राखिएको छ ।
मुख्यमन्त्री आचार्यले मन्त्रीपरिषद्का अन्य मन्त्रीहरूको जिम्मेवारी पनि हेरफेर गरेका छन् । यसअघि भूमि व्यवस्था तथा कृषि मन्त्रीको जिम्मेवारीमा रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, युवा खेलकुद मन्त्रीको जिम्मेवारी रहेका सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवार तोकिएको छ ।
रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी यथावत राखिएको गरिएको छ ।







