हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि भूटानले हिमनदी र हिमताल विस्फोटजन्य बाढीको जोखिम न्यूनीकरण गर्न चाैबीसै घण्टा निगरानी र पूर्वसूचना प्रणाली सञ्चालनमा ल्याएको छ ।
थिम्पु नजिकै रहेको मुख्य नियन्त्रण कक्षका टोलीहरूले उत्तरी हिमाली क्षेत्रका ६०० भन्दा धेरै हिमनदी तथा हिमतालको जलसतह निरन्तर अवलोकन गरिरहेका छन् ।
सन् २०११ देखि सञ्चालित यो प्रणालीमा सेन्सरमार्फत पानीको सतहमा असामान्य परिवर्तन देखिनेबित्तिकै तल्लो तटीय क्षेत्रमा स्वतः साइरन बज्ने व्यवस्था मिलाइएको छ ।
सन् १९९४ मा पुनात्सङछु नदीमा आएको बाढीका कारण २१ जनाले ज्यान गुमाएका थिए । भूटानमा रहेका तालमध्ये १७ वटालाई अत्यन्तै जोखिमपूर्ण मानिएको छ । यदि पुनात्सङछुको मुहानमा रहेका मुख्य तालका बाँध भत्किएमा ५ करोड ३० लाख घनमिटरभन्दा धेरै पानी तल बगेर ठूलो विनाश हुनसक्ने अनुमान छ ।
भूटानका प्रमुख हिमनदीविद् कर्माका अनुसार त्यहाँका साना–ठूला हिमनदीहरू प्रतिवर्ष १२ देखि ३५ मिटरसम्म पछाडि हटिरहेका छन् ।
आफूहरूले जलवायु परिवर्तनको असर भोग्नुपरेको भन्दै भूटानले यसको जिम्मेवारी लिन र समुदायको सुरक्षाका लागि सहयोग गर्न विश्व समुदायसँग आग्रह गरेको छ ।







