काठमाण्डाै – सन् २०२६ को सेप्टेम्बर महिनामा हवाई मार्ग हुँदै ८८ हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा ८८ हजार २४८ जना पर्यटक नेपाल आएका हुन् । यो सङ्ख्या अघिल्लो वर्ष अर्थात् सन् २०२५ को सेप्टेम्बर महिनाको तुलनामा १२.११ प्रतिशतले धेरै हो ।
सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार ७११ जना पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका थिए । यस वर्ष भोटेकोशी बाढी र असोजको ८ देखि ११ गतेसम्मको वर्षाका कारण पर्यटकको सङ्ख्या घट्ने चिन्ताका बीच सङ्ख्या भने बढेको हो ।
यस वर्षको सेप्टेम्बरमा भित्रिएका कुल पर्यटकमध्ये ३४ प्रतिशतभन्दा धेरै दक्षिण एशियाली देशहरूका छन् । भारतबाट मात्रै १७ हजार ४२५ जना पर्यटक आएका छन् । यस्तै चीनबाट आउने पर्यटकको सङ्ख्या शतप्रतिशतभन्दा धेरैले बढेर ११ हजार २१२ पुगेको छ ।
सेप्टेम्बरमा युरोपेली देशहरूबाट १५ हजार १४८, अमेरिकी महादेशबाट १० हजार १०७ र ओसिएनिया क्षेत्रबाट ५ हजार ४२२ जना पर्यटक नेपाल भित्रिएका पर्यटन बोर्डले जनाएको छ ।







