गृहपृष्ठ Featured १ वर्षभित्रै २ वटा घातक रेल दुर्घटनापछि स्पेनका यातायात मन्त्रीको राजीनामा

१ वर्षभित्रै २ वटा घातक रेल दुर्घटनापछि स्पेनका यातायात मन्त्रीको राजीनामा

एक वर्षभित्रै दुई वटा घातक रेल दुर्घटनापछि स्पेनका यातायात मन्त्री ओस्कार पुएन्तेले पदबाट राजीनामा दिनुभएको छ ।

राजधानी म्याड्रिडको दक्षिणमा पर्ने उर्दा शहर नजिक भएको दुर्घटनाबारे संसद‍्मा बयान दिएपछि मन्त्री पुएन्तेले हिजो राजीनामा दिनुभएको बीबीसीले जनाएको छ ।

राजीनामाबारे घोषणा गर्दै उहाँले आउँदो संसदीय चुनावका लागि तयार पारिएको उम्मेदवारहरूको सूचीबाट पनि आफ्नो नाम फिर्ता लिएको बताउनुभयो ।

अघिल्लो बुधवार कात्तिक ११ गते तीव्र गतिको दुई वटा रेल आपसमा ठोक्किएर भएको दुर्घटनामा कम्तीमा ६९ जनाको ज्यान गएको थियो भने झन्डै २०० जना घाइते भएका थिए ।

यो दुर्घटना युरोपको आधुनिक इतिहासकै सबैभन्दा घातक रेल विपत्तिहरूमध्ये एक थियो र सन् २०१३ यता स्पेनमा भएको सबैभन्दा घातक दुर्घटना थियो ।

यसअघि गएको जनवरीमा दक्षिणी स्पेनमा एउटा रेल लिकबाट बाहिरिएर विपरीत दिशाबाट आइरहेको अर्को रेलसँग ठोक्किँदा ४५ जनाको ज्यान गएको थियो ।

स्पेनमा तीव्र गतिको रेल सञ्जाललाई यहाँका प्रमुख उपलब्धिहरूमध्ये एक मानिन्छ । चीनपछि स्पेन विश्वकै दोस्रो ठूलो रेल सञ्जाल भएको देश हो ।

तीन दशकभन्दा धेरै समयसम्म रेल सञ्जालमा कुनै पनि घातक दुर्घटना भएको थिएन, तर यस वर्ष भएका दुई वटा ठूला दुर्घटनाले यसको प्रतिष्ठामा धक्का पुर्‍याएको छ ।

सम्बन्धित् समाचार