गृहपृष्ठ Featured फेरि ६ बैंकले घटाए ब्याजदर, कुनको कति छ?

फेरि ६ बैंकले घटाए ब्याजदर, कुनको कति छ?

वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाउने क्रम मंसिरमा पनि जारी राखेका छन्।

२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको मंसिर महिनाको ब्याजदर सूचीअनुसार ६ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्।

बाँकी १४ बैंकले कात्तिककै दरलाई निरन्तरता दिएका छन्।

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त हुँदा कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न सकेको छैन।

निक्षेप बढ्ने र कर्जाको माग सुस्त रहने भएपछि बैंकहरूलाई निक्षेप आकर्षित गर्न बढी ब्याज दिनुपर्ने दबाब कम भएको हो।

त्यसैले, बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर क्रमशः घटाउँदै लगेका हुन्।

कात्तिकको तुलनामा मंसिरमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.१०७ प्रतिशत विन्दुले घटेको छ।

कात्तिकमा यस्तो ब्याजदरको औसत ४.०१३ प्रतिशत थियो।

 

मंसिरमा घटेर ३.९०६ प्रतिशत कायम भएको छ।

मंसिरका लागि कृषि विकास, कुमारी, लक्ष्मी सनराइज, माछापुच्छ्रे, एनएमबी र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ब्याजदर घटाएका हुन्।

माछापुच्छ्रे बैंकले सबैभन्दा धेरै एक प्रतिशत विन्दुले मुद्दती निक्षेपको ब्याजदर घटाएको छ।

कात्तिकमा ४.५० प्रतिशत रहेको अधिकतम ब्याजदर मंसिरमा ३.५० प्रतिशतमा झारेको छ।

कृषि विकास बैंकले ०.५० प्रतिशत विन्दुले घटाएको छ।

कात्तिकमा ४.१५ प्रतिशत रहेको दर मंसिरमा ३.६५ प्रतिशत कायम गरेको छ।

लक्ष्मी सनराइज बैंकले ४ प्रतिशतबाट ३.७५ प्रतिशतमा झारेको छ। एनएमबी बैंकको ४.२५ प्रतिशत छ।

कुमारी बैंकले ३.७० प्रतिशतबाट ३.६१ प्रतिशतमा झारेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.७० प्रतिशतबाट ३.६५ प्रतिशत कायम गरेको छ।

मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर सानिमा बैंकले दिएको छ।

बैंकले कात्तिककै ४.५० प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ।

पाँच वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा यो दर लागू हुन्छ।

नेपाल बैंकले ४.१५ प्रतिशत ब्याजदर कायम गरेको छ। प्रभु बैंकले ४.२५ प्रतिशत दिएको छ।

ग्लोबल आइएमई, हिमालयन, नेपाल एसबिआई, एनआइसी एसिया, प्राइम कमर्सियल र राष्ट्रिय वाणिज्य बैंकले ४ प्रतिशत ब्याजदर कायम गरेका छन्।

त्यस्तै, एभरेस्ट र नबिल बैंकले ३.७५ प्रतिशत ब्याजदर दिएका छन्।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३.७० प्रतिशत र सिद्धार्थ बैंकले ३.७६ प्रतिशत कायम गरेका छन्।

बैंकहरूले छोटो अवधिको मुद्दती निक्षेपमा तुलनात्मक रूपमा कम र लामो अवधिको निक्षेपमा बढी ब्याजदर दिने गरेका छन्।

सबैभन्दा बढी ब्याजदर दिने बैंकमा सानिमा, एनएमबी, प्रभु र नेपाल बैंक रहेका छन्।

सानिमा ४.५०, एनएमबी र प्रभुले  ४.२५ र नेपाल बैंकले ४.१५ प्रतिशत ब्याज दिएको छ।

सम्बन्धित् समाचार