वैखरी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु उद्योग वाणिज्य संघले आगामी मंसिर १७ गतेदेखि २९ गतेसम्म आयोजना गर्न लागेको १७ औँ कपिलवस्तु महोत्सवको तयारीलाई तीव्रता दिएको छ ।
बाणगंगा नगरपालिका–स्थित बुद्ध रङ्गशालामा आयोजना हुने महोत्सवलाई भव्य, सभ्य र ऐतिहासिक रूपमा सफल बनाउन संघले तयारी अघि बढाएको हो । महोत्सव सम्पन्न गर्न संघले अध्यक्ष गणेशबहादुर क्षेत्रीको संयोजकत्वमा १७ औँ कपिलवस्तु महोत्सव मूल समारोह समिति गठन गरेको संघका महासचिव नवदत्त घिमिरेले जानकारी दिए ।
महोत्सवलाई विगतका संस्करणभन्दा थप उत्कृष्ट र आकर्षक बनाउन यस वर्ष केही नयाँ कार्यक्रम तथा नवीन प्रयोगहरू गरिने मूल समारोह समितिका संयोजक क्षेत्रीले बताए । महोत्सवलाई स्थानीय कला, संस्कृति, कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको प्रवर्द्धनसँग जोड्दै विशेष बनाउने लक्ष्य रहेको उनको भनाइ छ ।
संघले महोत्सवलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न तत्काल विभिन्न उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँट गर्ने निर्णयसमेत गरिसकेको छ । उपसमितिहरू गठनसँगै महोत्सवको तयारीले थप गति लिने संघले जनाएको छ ।
मंसिर १७ देखि २९ गतेसम्म सञ्चालन हुने महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, व्यापारिक गतिविधिको विस्तार, पर्यटन प्रवर्द्धन तथा मनोरञ्जनका माध्यमबाट आर्थिक र सामाजिक गतिविधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ







