गृहपृष्ठ Featured सरकार कसैलाई ‘नचिन्ने’ कार्यशैलीमा हिँडेको छ : गगन थापा

सरकार कसैलाई ‘नचिन्ने’ कार्यशैलीमा हिँडेको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आउँदो स्थानीय तह र प्रदेशसभा सदस्य निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सरकारको भएको बताएका छन् । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग शुक्रबार (मंसिर ४) निर्वाचन आयोगले गरेको छलफलपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

उनले निर्वाचनको वातावरण निर्माण गर्ने विषयमा आयोग आफैँले सबै जिम्मेवारी उठाउनेभन्दा पहलकदमीका निम्ति समयमै सरकारको ध्यानाकर्षण गराउनुपर्ने पार्टीको धारणा रहेको स्पष्ट पारे । सरकार राजनीतिक दल र प्रतिपक्षलाई बेवास्ता गरेर अघि बढ्न खोजिरहेको भन्दै उनले निर्वाचनका सम्बन्धमा यस्तो व्यवहार र कार्यशैली स्वीकार्य नहुने समेत बताए ।

उनले ०८२ भदौ २३ र २४ गतेको अप्रत्याशित घटनापछिको परिस्थितिमा निर्वाचन सम्पन्न गर्न तत्कालीन सरकारले राजनीतिक दलहरूसँग गरेको संवाद र सहजीकरण महत्त्वपूर्ण रहेको स्मरण गराए ।

सभापति थापाले निर्वाचनको मिति र प्रक्रियाबारे संविधान तथा कानुनले स्पष्ट व्यवस्था गरिसकेको भन्दै सोहीअनुसार मिति तय गर्न सकिने बताउनु बताए । उनले प्रदेश र स्थानीय तहका निर्वाचन एकै समयमा गर्ने विषयमा आयोगमा छलफल भएको उल्लेख गरे ।

विशिष्ट परिस्थितिमा एकै मितिमा निर्वाचन गर्न सकिने सम्बन्धमा दलहरूबीच अझै बहस र छलफलको आवश्यकता रहेको उनले बताए ।

गगन थापाको भनाइ पढ्नोस्–
निर्वाचनको निष्पक्षता सुनिश्चितता गर्ने कुरामा सबैभन्दा ठूलो जिम्मेवारी सरकारको हो । तर, सरकारले अरू कैयौँ विषयहरूमा म नेपालमा कुनै पनि राजनीतिक दल चिन्दिनँ, प्रतिपक्षीलाई चिन्दिनँ, कसैलाई पनि चिन्दिनँ, कसैलाई गन्दिनँ, कसैलाई मान्दिनँ भन्दै गर्दा अरू कुरामा सरकारको काम–कारबाही चल्छ, तर निर्वाचनमा चल्दैन । हामी गत वर्षको भाद्रको २३ र ३४ को अनअपेक्षित विप्लवपछाडि जुन अजस्थामा निर्वाचन भयो, त्यो समयमा निर्वाचन आयोगले मात्र निर्वाचन गराएर निर्वाचन भएको होइन भन्ने कुरा पनि स्मरण गरायौँ । त्यो बेला तत्कालीन सरकारले निर्वाचनका सम्बन्धमा राजनीतिक दलहरूसँग कतिपटक संवाद गर्‍यो भन्ने कुरा एकदमै महत्त्वपूर्ण छ । त्यसकारण अब आउँदै गरेको स्थानीय र प्रदेश तहको निर्वाचनको वातावरण बनाउने कुरामा सरकार आफैँले पहलकदमी लिने कुरामा समेत निर्वाचन आयोगले समयमै ध्यानाकर्षण गराओस् । आयोग आफैँले मात्रै सबै जिम्मेवारी नउठाओस् । अर्को, निर्वाचन कहिले गर्ने, कसरी गर्ने भन्ने विषयमा हाम्रो संविधान र कानुनले समेत स्पष्ट गरिसकेका कुराहरू छन् ।

न्युज एजेन्सी नेपाल

सम्बन्धित् समाचार