लुम्बिनीमा अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्र बनेको १४ महिना भएको छ । तर, सभाहल सञ्चालन गर्न अझैसम्म कार्यविधि बनेको छैन । २०७९ साल जेठ २ गते २५६६औँ बुद्ध जयन्तीका अवसरमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सभाहल उद्घाटन गरेका थिए ।
पौने एक अर्ब रुपैयाँमा निर्मित अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्र सञ्चालन गर्न कार्यविधि बनाउनेको विषयमा पटक पटक छलफल भए पनि कार्यविधि बनाउनको जिम्मा अझैसम्म कसैलाई प्रदान गरिएको छैन ।
लुम्बिनी विकास कोषका सूचना अधिकारी डा. हरिध्वज राईका अनुसार अझैसम्म कार्यविधि नभएको तर बनाउन छलफल चलेको छ । उद्घाटन गरेको केही महिनामा हल चुहिएपछि थप समस्या भएको डा.राईले बताए ।
लुम्बिनीको महत्त्व र मूल्यमान्यता अनुसारका कार्यक्रमका लागि मात्रै सभा हल भाडामा दिन सक्ने गरी काम चलेको छ । त्यस आधारमा उद्घाटन भएको १४ महिनामा विकास कोषका बाहेक आधा दर्जन जति सङ्घ संस्थाहरूले कार्यक्रम गरेका छन् ।
पाँच हजार जना अटाउने उक्त सभा हल कोषले कुन प्रकृतिको कार्यक्रमको हो, समय हेरेर दैनिक एक लाखदेखि ५० हजारसम्म भाडा लिने गरिएको छ ।
विकास कोषका अधिकृत राजन बस्नेतका अनुसार यहाँ गत माघमा १० दिने रामकथा प्रवचन भएको थियो । यस्तै, नेपाल शिक्षक सङ्घको सम्मेलन, सत्य शाही सेवा सङ्गठन, श्रुति फाउन्डेसन र हेफर नामक गैरसरकारी संस्थाले किसानको राष्ट्रिय भेला आयोजना गरेको थियो । ती संस्थाबाट रकम लिइएको उनले बताए ।
यस्तै यहाँ हुने विकास कोषको बुद्ध जयन्ती कार्यक्रम, भिक्षु बन्नु भन्दा अगाडि गरिने प्रज्या पूजा आदिको कार्यक्रम भए पनि निःशुल्क गरिएको छ । उनले भने कार्यक्रम प्रकृति हेरेर यहाँको खर्च उठ्ने गरी अहिले रकम लिने गरिएको छ तर कतिपय कार्यक्रम निःशुल्क पनि गर्नुपर्ने हुन्छ ।