वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले निःशुल्क शिक्षा भएका पालिकामा नतिजा नकारात्मक देखिएको बताएका छन् । नगरप्रमुख अर्यालले निःशुल्क शिक्षाको सट्टा स्वास्थ्य हुनुपर्ने बताए ।
‘मिडियामा प्रचारप्रसारकै लागी कतिपय पालिकामा निःशुल्क शिक्षा भनिएको छ । जसले त्यहाँ शिक्षाको नतिजा र गुणस्तरियता नकारात्मकतातर्फ गएको तथ्याङ्कले देखाएको छ,’ उनले भने ।
लगानी भएको ठाउँमा नै हरेक व्यक्ति सकारात्मक प्रतिफल प्राप्त गर्न उद्धत हुने भएकाले निशुल्क हुँदा गर्नुपर्ने परिश्रम, दृढ ईच्छा शक्ति र चासो नराख्ने गरेको पाईएको उनले बताए ।
संविधानमा निःशुल्क शिक्षा भनिएको भए पनि पालिकाको स्रोत साधानले निशुल्क शिक्षा सम्भव नहुने उनको भनाई छ । जसले गर्दा पालिकामा हुनुपर्ने अन्य विकास पुर्वाधारका काम गर्न नसकिने उनले बताए ।
निजि विद्यालय भन्दा सामुदायिक विद्यालय अब्बल रहेको उनको दाबी छ । बाणगंगा नगरपालिकालाई देशकै शिक्षाको हब बनाउन नगरपालिका योजनावद्ध रुपमा अघि बढेको उनले जिकीर गरे ।
निजि विद्यालयबाट सामुदायिक विद्यालयमा विधार्थीहरु आउने क्रम बढेको र उक्त क्रम अझै निरन्तर बढ्दै जाने उनले दाबी गरे । उनले विद्यालय क्षेत्रमा लागुऔषद नियन्त्रणका लागी नगरपालिका प्रहरीसंग सहकार्य गरेर अगाडि बढिरहेको बताए ।
उनले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकका समस्या समाधानको जिम्मेवारी नगरपालिकाले लिने प्रतिवद्धता जनाए ।








