बुटवल ।
लुम्बिनी प्रदेशमा पछिल्लो ४ वर्षको अवधिमा सवारी दुर्घटनाबाट एक हजार ९ सय ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १४ हजार ८ सय ८ जना घाइते भएका छन् ।
लुम्बिनी प्रदेशको गृह मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/०७७ देखि २०७९/०८० सम्ममा प्रदेशका १२ जिल्लामा ११ हजार ७ सय ६३ सवारी दुर्घटना भएका थिए ।
अधिकांश दुर्घटनाको कारण भने तीव्र गति नै रहेको देखिएको छ । त्यस्तै चालकको लापर्बाही, कमजोर सडक, धेरै भारवहन, पुराना सवारी र यात्रुमा भएको ट्राफिक अज्ञानतालाई पनि दुर्घटनाको कारणका रुपमा देखाइएको छ ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ४ सय ८४ जनाको मृत्यु भएको थियो । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ५ सय २७, २०७८/७९ मा ५ सय ५१ जना तथा आर्थिक वर्ष २०७९/०८० मा ३ सय ४३ जनाको मृत्यु भएको तथ्यांक छ ।
सवारी दुर्घटना हरेक वर्ष बढ्दै गए पनि गत आर्थिक वर्षमा भने तुलनात्मक रुपमा कम भएका थिए । सडक संजाल राम्रो बनाएर दुर्घटनाविरुद्धका अभियानमा नागरिक सहभागिता बढाएको खण्डमा सवारी दुर्घटना कम हुनसक्ने मन्त्रालयका उपसचिव यमबहादुर कुंवरले बताए ।








