तिलोत्तमा ।
रुपन्देहीको बुटवलमा प्रदेश जनस्वाथ्य प्रयोगशाला सुरु गरिएको छ । दातृ निकायको सहयोगमा ८ करोड ७० लाख २० हजार ४ सय ७० रुपैयाँ लगातमा निर्माण भएको भवन एक कार्यक्रमबीच सोमबार उद्घाटन भयो ।
ग्लोबल फण्डको अनुदान र सेभ द चिल्ड्रेनको सहयोगमा निर्मित उक्त प्रयोगशाला सेभ द चिल्ड्रेनका कन्ट्री डाईरेक्टर हेयथर कम्पबेलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आम नागरिकको स्वस्थ्य सेवामा पहुँच बनाउने गरी प्रयोगशाला सञ्चालन गरिने बताए । उनले प्रयोगशालाको गुणस्तरलाई ध्यान दिन पनि सुझाव दिएका थिए ।
‘यसलाई थप प्रयोगयुक्त बनाउन अनुसन्धानात्मक रिसर्च सेन्टरको रुपमा विकास गर्नुस । दक्ष जनशक्ति तयार गर्ने गरी तालिम चलाउने, नयाँ दक्ष जनशक्ति तयार गराउने गरी लाग्नुपर्छ । यसमा प्रदेश सरकारको साथ र सहयोग रहन्छ,’ मुख्यमन्त्री चौधरीले भने ।
कार्यक्रममा बोल्दै प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले प्रदेश संरचना निर्माणपछि पहिलो पटक भवन निर्माण सम्पन्न भएको भन्दै यसलाई पूर्ण क्षमतामा चलाउनको लागि आफूले सहयोग गर्ने बताए ।








