सहआयोजक अस्ट्रेलिया सोमबार महिला विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ र यसले उसलाई ठूलो राहत प्रदान गरेको छ । क्यानडामाथि प्राप्त ४–० को जितमा अस्ट्रेलियाका लागि हेयले रासोले दुई गोल गरिन् । नकआउट चरणमा अस्ट्रेलियासँगै उसको समूहबाट नाइजेरिया पनि पुगेको छ । आक्रामक र सुदृढ अस्ट्रेलियाको हातबाट पराजित भएपछि ओलम्पिक च्याम्पियन क्यानडा भने प्रतियोगिताबाट बाहिरियो ।
अस्ट्रेलियालाई मेलबर्नमा भएको खेल जित्नैपर्ने थियो । यसक्रममा उसले समूह ‘बी’ जित्न सानदार प्रदर्शन पनि गर्यो । यसको अर्थ अबको चरणमा अस्ट्रेलियाले युरोपेली च्याम्पियन सम्भवतः इंग्ल्यान्डको सामना गर्नुपर्ने छैन । सम्भवतः नाइजेरियाको प्रतिद्वन्द्वी हुनेछ, यही इंग्ल्यान्ड । समूहको अर्को खेलमा नाइजेरियाले यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको आयरल्यान्डसँग गोलरहित बराबरी खेल्यो । यो नतिजापछि नाइजेरिया समूहको उपविजेता रह्यो ।
नाइजेरियाविरुद्धको खेल ३–२ ले गुमाएपछि अस्ट्रेलिया चर्को दबाबमा थियो । यही नतिजाले समूहमा सबै खाले सम्भावना खुलेको थियो । तर अस्ट्रेलियाले अर्को सहआयोजक न्युजिल्यान्डको जस्तो नियति भोग्नुपरेन र आफ्ना २७ हजार ७ सय ६ दर्शक अगाडि रोमाञ्चक खेल पस्कन सफल पनि रह्यो । अस्ट्रेलियाका लागि स्टार स्ट्राइकर साम केर बेन्चमै रहिन् । उनले आफू चोटबाट मुक्त भएको घोषणा पनि गरेकी थिइन् । उनले सुरुआती दुई खेल पनि चोटकै कारण गुमाएकी थिइन् ।
खासमा अस्ट्रेलियाका लागि उनको आवश्यकता पनि परेन । रियल म्याड्रिडकी रासोले नवौं मिनेटमा पहिलो गोल गरिन् । त्यसको आधा घण्टापछि दोस्रो गोल पनि थपिन्, नजिकको दूरीबाट । त्यस स्थितिमा क्यानडेली प्रशिक्षक बेभ प्रेस्टमनले आक्रामक रणनीति अपनाए । तर भाग्य अस्ट्रेलियाकै पक्षमा रह्यो । म्यारी फाउलरले अस्ट्रेलियाका लागि प्रत्याक्रमणका क्रममा तेस्रो गोल थपिन् । दोस्रो हाफको इन्ज्युरी समयमा स्टेफानी क्याटलीले पेनाल्टीबाट चौथो गोल गरिन् ।






