वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले व्यक्तिसंग सर्टिफिकेट भएर पनि सिप नभएको खण्डमा त्यसको कुनै अर्थ नहुने बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघ र कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा बाणगंगा नगरपालिका १ बैरियामा भएको २ दिने कर सम्बन्धि तालिमको समापन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले जीवनको सबैभन्दा ठूलो पक्ष ज्ञान र सिप भएको बताए । योग्यतासंगै सिप भएमा रोजगारीका थुप्रै अवसरहरु प्राप्त हुने बताउँदै उनले भने, ‘हामीसंग सर्टिफिकेट भएर पनि सिप छैन् भने त्यसको कुनै अर्थ छैन् । जसका कारणले रोजगारीका सिलसिलामा असफलता व्यवहोर्नुपर्ने हुन्छ ।’
अध्यक्ष घिमिरेले व्यवसायीहरुलाई करको दायरामा ल्याउन तालिमले महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । व्यावसायीले भोगेका कर सम्बन्धी विभिन्न समस्याहरुको निदानका लागी तालिम फलदायी भएको उनको दाबी छ ।
अब छिट्टै संघले फेरी खाद्य सम्बन्धि तालिम संचालन गर्ने तयारी गरेको उनले जानकारी दिए । अध्यक्ष घिमिरेले संघले यस क्षेत्रका उद्योगी, व्यवसायीलाई लक्षित गरि विगतदेखि नै कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने प्रतिवद्धता जनाए ।








