गृहपृष्ठ खबर चाडपर्वको खर्च जोहो गर्न भारत !

चाडपर्वको खर्च जोहो गर्न भारत !

बाँके ।

बर्दियाको बढैयाताल गाउँपालिका–२ का खटकराज बुढा शनिबार दसैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमानाका जमुनाहमा भेटिए । बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिमला जान लागेको उनले बताए ।

६० वर्ष पार गरिसकेका उनले बर्खे बाली लगाउन घर आउने र लगाइसकेपछि फेरि कमाउन भारतको सिमला जाने गरेको सुनाए । “परिवार एक्लैले बर्खा खेती लगाउन सक्दैनन् भनेर म लगाउन आउँछु । खेती लगाइसकिएपछि पैसा कमाउनका लागि फेरि भारतको सिमलामै जान्छु,” उनले भने, “मिले दसैँ–तिहारमा घर फर्कन्छु, नमिले साथीभाइ आउँदा उहाँहरूसँगै चाडबाड मनाउने पैसा पठाइदिन्छु ।”

बुढा विगत ३५ वर्षदेखि खेती लगाउन घर आउने र लगाइसकेपछि फेरि कमाउनका लागि भारत जाने गर्दै आएका छन् । नेपालमा जति काम गरे पनि राम्रो पारिश्रमिक नपाउने र पाए पनि ठेकेदारले पैसा नै नदिने उनले गुनासो गरे ।

“नेपालमै केही गरौँ भन्ने सोच र जाँगर भए पनि कामको उचित व्यवस्थापन छैन, न त मूल्य नै छ,” उनले भने, “घरपरिवार छाडेर अर्काको देशमा काम गर्न जाने रहर त मलाई पनि कहाँ छ र ? तर, गुजाराका लागि पनि जानैपर्ने बाध्यता छ ।”

बुढाजझैँ सुर्खेत, मेलकुनाका हरि ओली पनि असारे खेतीबाली लगाएर परिवारको छाक टार्न भारतमा मजदुरीका लागि जाँदै गर्दा जमुनाहमा भेटिए । घरमा स्कुल पढ्ने छोराछोरी छन् । पढाउनलाई र दसैँ–तिहारको जोहो गर्न आफू भारत जानुपर्ने बाध्यता भएको उनले बताए ।

सम्बन्धित् समाचार