कपिलवस्तु ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुले भित्तेपात्रो (क्यालेन्डर) विमोचन गरेको छ। विहिबार बाणगंगा नगरपालिकाको सभाहलमा आयोजित एक विशेष कार्यक्रममा भित्तेपात्रो सार्वजनिक गरिएको हो।
कार्यक्रममा बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले भित्तेपात्रो विमोचन गर्दै प्रेस चौतारीले २०५७ सालदेखि समाजलाई सुसूचित र सुसज्जित बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे।
उनले सञ्चारकर्मीहरूलाई सत्यतथ्यमा आधारित समाचार लेखनमा जोड दिन आग्रह गर्दै पत्रकारिताको मर्यादा र जिम्मेवारीलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए।
नगरप्रमुख अर्यालले संस्थाको विकास तथा पत्रकारिताको सुदृढीकरणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
त्यसैगरी, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य पार्वती पाण्डे, जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझीले पत्रकारहरूको क्षमता अभिवृद्धि तथा पेशागत सुदृढीकरणका लागि शाखाले निरन्तर काम गर्दै आएको बताएका थिए ।
उहाँहरुले यस्ता कार्यक्रमले पत्रकारितालाई थप जिम्मेवार र व्यवस्थित बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रममा स्थानीय सञ्चारकर्मी, सरोकारवाला तथा अन्य सहभागीहरूको उपस्थिति रहेको थियो।







