रुपन्देही ।
नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका ४ जिल्लामा संयोजक फेरेको छ । पुराना संयोजकहरु केन्द्रीय कमिटीमा भएकाले उनीहरुलाई हटाइ नयाँ जिम्मेवारी तोकिएको हो ।
प्रदेश कमिटी बैठकले पालिकाका इन्चार्जहरूको समेत टुङ्गो लगाएको छ ।
अहिले माओवादीले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानका लागि लुम्बिनी प्रदेशमा नेताहरूको जिम्मेवारी तोकेको छ । पार्टीले स्थायी समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र प्रदेश सदस्यहरूको कार्य विभाजन टुङ्ग्याएको हो ।
गत साउन ३२ गते केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर महराको रोहबरमा बसेको प्रदेशको बैठकले जिम्मेवारी टुङ्ग्याएको बताइएको छ ।
जसअनुसार रोल्पा जिल्ला इन्चार्जमा पूर्णबहादुर घर्ती, रुकुम पूर्वमा कमला रोक्का, बर्दियामा पूर्णकुमारी सुवेदी, बाँकेमा कुलप्रसाद केसी, दाङमा जयपुरी घर्ती इन्चार्ज तोकिएका छन् । त्यस्तै प्युठानमा निर्मल आचार्य, गुल्मीमा जोगबहादुर महरा, अर्घाखाँचीमा वामदेव क्षेत्री, पाल्पामा कृष्णध्वज खड्का, नवलपरासीमा हरि कुल्लाह खाँ, रुपन्देहीमा गणेशमान पुन र कपिलवस्तु इन्चार्जमा महेश्वर गहतराज अथक तोकिएका छन् ।
यस्तै बैठकमा १२ वटै जिल्लाको सांगठनिक रिर्पोट सम्बन्धित जिल्ला संयोजकहरूले प्रस्तुत गरेका थिए । अभियानको अनुगमन र स्कुलिङका लागि नेताहरू जगप्रसाद शर्मा अपार, नारायण अधिकारी र लक्ष्मी चौधरीलाई जिम्मा दिइएको छ । पार्टीले दिएको नयाँ जिम्मेवारीअनुसार सबै विशेष रुपान्तरण अभियानअन्तर्गत खटिएका छन् ।
स्थायी कमिटी सदस्य तहका नेताहरुलाई जिल्लाको इन्चार्ज तोकिएपछि केन्द्रीय कमिटी र प्रदेशका सबै पालिका र वडा तहको जिम्मेवारीमा रहेका छन् ।
माओवादीले लुम्बिनी प्रदेशलाई आफ्नो आधार इलाकाको रुपमा माने पनि रोल्पा, रुकुम पूर्वमा बाहेक अन्य क्षेत्रमा धेरै कमजोर भएकाले विशेष रुपान्तरण अभियानलाई ध्यान दिइएको जनाएको छ ।








