रुपन्देही ।
रुपन्देहीका १६ वटा स्थानीय तहमध्ये गैंडहवा गाउँपालिका धेरै पूँजीगत खर्च गर्ने पालिका बनेको छ । आर्थिक वर्ष २०७९÷८० मा कुल बजेटको पूँजीगततर्फ ८७ प्रतिशत खर्च गरेको दाबी गाउँपालिकाको रहेको छ ।
आइतबार गाउँपालिकामा वार्षिक समीक्षा गर्दै गैडहवाले सीमित स्रोतका बाबजुद रुपन्देहीमा सबैभन्दा धेरै बजेट गर्च गर्ने गाउँपालिका बनेको दाबी गरेको हो। गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले चालु आर्थिक वर्षमा पूँजीगत खर्च बढाएर ९० प्रतिशत पुयाउने दाबी गरे ।
उनले भने १ देखि ९ सम्मका विभिन्न वडाले अधिकतम ९६ प्रतिशतसम्म बजेट खर्च गरेको देखिएको छ ।’ अध्यक्ष पौडेलले चालुतर्फ ८२ प्रतिशत खर्च भएको जानकारी दिए ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थिले सडक पिच, ढलान, ग्राभेल, स्तरोन्नति, नाली निर्माणका धेरै काम भएको भन्दै स्वास्थ्य, शिक्षा तथा कृषि र रोजगारलाई चालु आर्थिक वर्षमा विशेष प्राथमिकताका साथ अगाडि बढाएर लैजाने बताए ।
उनले सार्वजनिक खर्च व्यवस्थापनलाई नतिजामुखी बनाइँदै विकास आयोजना कार्यान्वयनलाई सहजीकरण गरिने जनाए ।
कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखाहरुले आ–आफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए । उनीहरुले समृद्ध गैडहवाको विकासको नारालाई आत्मसात गर्दै आम जनसमुदायको हितमा काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
यस्तै १ देखि ९ सम्मका वडाध्यक्ष तथा वडा सचिवहरुले जनचाहनाअनुरूप नागरिकहरुको घरदैलो सेवा प्रदान गर्ने, आधारस्तम्भको रुपमा रहने, स्थानीय तहको भूमिकालाई प्रभावकारी बनाइने दाबी गरे ।
गोष्ठीमा उपस्थित स्थानीयले समग्र गैडहवाको विकासका लागि हातेमालो गर्न सदैव तत्पर रहेको बताएका थिए । पालिका अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षता तथा सूचना अधिकारी गणेश भट्टराइको सञ्चालनमा सम्पन्न भएको थियो ।








