सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका- ८ ढोडेखोलका हरि नारायण थारु क्रोेसियालाई गन्तव्य बनाएर घरबाट हिडे । तर दुर्भाग्यवश उनी क्रोरोसिया नपुगी अचेत अवस्थामा घर फर्किए ।
गत बर्षको जेठ महिनामा नेपालबाट वैदेशिक रोजगारीका लागी भनि हरिनारायण साढे ८ लाख रुपैयाँ म्यान पावरलाई बुझाएर विदेशिए । सो क्रममा उनी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुदैं दुबई पुगे । दुबई पुगेपछि एक्कासी उनी ढलेको पारिवारिक स्रोतले बताएको छ । दुबईमा केही दिनको उपचारपछि उनी फेरी क्रोसिया जान भनेर हिँडे । तर उनको त्यो प्रयास असफल नै भयो ।
त्यसपछि उनी परिवारसंग ६ महिनासम्म सम्पर्क विहिन भए । यता घरपरिवारमा ६ महिनासम्म कुनै अत्तोपत्तो नहुँदा उनका परिवारमा छट्पटाहट छायो । एक्कासी सामाजिक संजाल टिकटिकमा उनको परिवारले दुबईको सारजाहको एक हस्पिटलमा अचेत अवस्थामा उपचार भईरहेको तस्बिरसहित भिडियो सार्वजनिक भएको देखे । उक्त भिडियो देख्नसाथ परिवारमा एक प्रकारको हलचल नै मच्चियो । परिवारका सदस्यमा भोकतिर्खा हरायो । घरमा ४ दिनसम्म खाना नै पाकेन् ।
एक लाख ५० हजार खर्चिएर श्रीमान हरिनारायणलाई दुबईबाट जिकाएको र छोड््न आउनेलाई ४५ हजारको टिकट गराएर पठाएको उनकी श्रीमति चम्फा थारुले वैखरीलाई सुनाईन् । उनका अनुसार म्यानपावरले जिकाउँदा लागेको खर्च र क्रोसिया पठाउँदा दिएको सम्पुर्ण रकम फिर्ता दिने भनेको तर जम्मा ६ लाख ४० हजार मात्र दिएको छ । ‘म्यान पावरले क्रोसिया जाने भनेर दिएको सबै पैसा पनि दिएको छैन्,’ उनले भनिन्, ‘जिकाउँदा लागेको खर्च एक पैसा पनि व्यवहोरेन् ।’
श्रमति चम्फाले काठमाडौको बसुन्धरामा रहेको जुम ईन्टरनेशनल प्रा.लि.मार्फत हरिनारायण वैदेशिक रोजगारीका लागी गएको र सोही म्यानपावरको लार्पारवाहीले गर्दा यस्तो परिस्थिति निम्तिएको दाबी गरिन् ।
हरिनारायण नेपाल आउँदा घण्टौसम्म रुने गरेको बताउँदै उनले भनिन्, ‘खाली रोकोराई गर्नुहुन्थ्यो । खान पनि नसक्ने, मान्छे नचिन्ने, ट्वाईलेट गर्न नसक्ने स्थितिमा हुनुहुन्थ्यो ।’ हरिनारायणले ३ महिनापछि मात्र मान्छे चिनेको बताउँदै उनले अहिले दिसापिसाब लाग्दाँ रुने गरेको बताईन् । जग्गा धितो राखि १० लाख ऋण निकालेर श्रीमानलाई पठाएको बताँउदै उनले भनिन्, ‘धेरै सपना बोकेर क्रोसिया जान्छु भन्नुभएको थियो, तर श्वास मात्र बाँकी रहेको अवस्थामा नेपाल जिकायौं ।’
उनका दुई छोरी छन् ।







