रुपन्देही ।
प्रदेश सरकारको योजना निर्माण र कार्यान्वयनका विषयमा प्रश्न उठिरहेका बेला सबै प्रदेश योजना आयोगका पदाधिकारीहरु रुपन्देहीमा जुटेका छन् ।
लुम्बिनी प्रदेश योजना आयोगको समन्वयमा भएको भेलामा प्रदेशहरुको दोस्रो आवधिक योजना निर्माण, प्रदेश योजना आयोगको अवस्था र अबको भूमिकाका विषयमा छलफल गरिनेछ ।
भेलामा सबै प्रदेशहरुको दोस्रो आवधिक योजनाबारे छलफल, संघीयता कार्यान्वयनमा प्रदेश योजना आयोगहरुको अहिलेसम्मको भूमिका, अधिकार प्रत्यायोजनको अवस्था र अबका दिनमा आयोगले खेल्नुपर्ने भूमिकाको विषयमा छलफल हुनेछ । अहिलेसम्मको समग्र अवस्थाको समीक्षा, भोलिका दिनको योजना र आयोगको भूमिका तथा दोस्रो आवधिक योजना निर्माण र संघीय सरकारको १६ औं योजनाको अन्तरसम्बन्ध र एकरुपता ल्याउने विषय भेलाका मुख्य एजेण्डा छन् ।
यसैगरी अन्य प्रदेशका अहिलेसम्मका अभ्यास र उठेका विषयवस्तुमाथि पनि छलफल गरेर प्रदेशहरुको विकासको योजना तयार हुने जनाइएको छ । संघ, प्रदेश र स्थानीय तहको समन्वयको विषयमा पनि भेलामा छलफल हुनेछ ।








