गृहपृष्ठ Featured अर्घा भगवती मन्दिरबाट ५१ वर्षअघि हराएको मूर्ति भेटियो

अर्घा भगवती मन्दिरबाट ५१ वर्षअघि हराएको मूर्ति भेटियो

अर्घाखाँची ।

अर्घाखाँचीको अर्घा भगवती मन्दिरबाट ५१ वर्षअघि हराएको पशुपतिनाथको पञ्चमुखी मूर्ति भेटिएको छ । २०३० साल वैशाख २५ गते अर्घा भगवती मन्दिरबाट हराएकाे पञ्चमुख भएका शिवकाे मूर्ति आज शुक्रवार बिहान शुभ साइतसँगै वैदिक विधिपूर्वक मन्दिरमा पुनः प्रतिस्थापन गरिएको अर्घा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताउनुभयाे ।

बाइसे चौबीसे राज्यअन्तर्गत पर्ने अर्घा मन्दिर तथा दरबारमा वैदिक विधिपूर्वक पूजाआजा गरी पञ्चेबाजा बजाएर शुभ साइतमा मूर्ति पुनः प्रतिस्थापन गरिएको पण्डित केशवराज आचार्यले बताउनुभयाे ।

सन्धिखर्क नगरपालिका–९ मा रहेकाे अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा पहिले धेरै देवी देवताका मूर्ति थिए । ५१ वर्ष अगाडि मन्दिर फोडेर बहुमूल्य धातुका धेरै मूर्ति चाेरी भएकाे थियाे । मूर्ति हराएपछि खोजी गर्दै जाँदा मुद्दा चलेको थियो ।

पुनरावेदन अदालत तत्कालीन अञ्चल अदालतमा हराएको मध्येको एक वटा मूर्ति रहेको भन्ने जानकारी प्राप्त भएपछि स्थानीय बुढापाकालाई बुझ्दा पञ्चमुख भएको मूर्ति मन्दिरमा रहेकाे र त्याे मूर्ति पनि हराएको थियो भन्ने जानकारी प्राप्त भएपछि आज शुभ साइतमा प्रतिस्थापन गरिएको अर्घा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भुसालले बताउनुभयाे । मुद्दाको समयमा त्याे मूर्ति अनुसन्धानको सिलसिलामा लगिएको हुन सक्ने र झन्डै चार सय वर्ष पुरानो हुन सक्ने अनुमान छ ।

सम्बन्धित् समाचार