कपिलवस्तु ।
दसैं तथा तिहारको आगमनसँगै जिल्लाका सीमा नाकामा तस्करी मौलाएको छ। सीमा क्षेत्रको सुरक्षा र तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीकै मिलेमतोमा जिल्लामा तस्करी बढेको हो। सीमा क्षेत्रमा रहेका बीओपीहरूले सशस्त्र प्रहरीका उपरीक्षक जीवन केसीको मौन स्वीकृतिमा अवैध रकम संकलन गरिरहेका छन्।
सीमा नाकाबाट कपडा, खाद्यान्न, मेशिनरी पार्ट्स, खसी-बोका, चप्पललगायतका सामाग्रीहरू तस्करी हुने गरेको छ। तर यहाँ खटिएका सशस्त्र प्रहरीहरू कमाउ धन्दामा लागेका छन्। जिल्लाको कृष्णनगर पश्चिमका सीमा नाका, कृष्णनगर आसपास, कुशहवा बढनी, मर्यादपुर, रंगपुर, चाकरचौडा लगायतका सीमा नाकामा तस्करीका घटना बढेका छन्।
आम सर्वसाधारणले घरायसी प्रयोजनका लागि भारतीय बजारबाट सामान ल्याउँदा निकै कडाइ गर्ने सशस्त्र प्रहरीहरू ठूलो संख्यामा भन्सार छली हुँदा मौन बस्ने गरका छन्। तर तस्करी गर्नेहरूसँग आफूहरूको कुनै प्रकारको सेटिङ नरहेको सशस्त्र प्रहरी उपरीक्षक जीवन केसी बताउँछन्। सादा पोसाकमा खटिने सशस्त्र प्रहरीहरूले मासिकरूपमा अवैध रकम संकलन गरेर सशस्त्र प्रहरीका जिल्ला प्रमुखसम्म पुर्याउने गरेको स्रोतको दाबी छ।
बीओपीमा रकम नबुझाउने हो भने आफ्नो सामान तत्काल प्रकाइ भइ जफत हुने गरेको एक कारोबारीको दाबी छ। ‘दुई पैसा कमाउनका लागि हामी पनि रकम खुवाएर नै काम गरेका छौं।’ नत्र यति ठूलो कहाँ हाम्रो हिम्मत हुन्छ र?,’ उनले भने।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्याबासिनी बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्रीले भने लुम्बिनी प्रदेशको सीमा सुरक्षा र तस्करी नियन्त्रणका विषयमा प्रदेश कार्यालय शून्य सहनशीलताको नीतिमा अघि बढेको बताए।








