वैखरी अनलाईन, बाणगंगा ।
१४ औं कपिलवस्तु महोत्सवको मुख्य आकर्षकका रुपमा रहने १२ औं कपिलवस्तु डान्स आइडलको पहिलो चरणको अडिसन सुरु भएको छ ।
महोत्सवको आयोजक संस्था बाणगंगा वेयलफेयर सोसाइटीको भवन बुद्धरंगशालामा आज मंगलबारदेखि डान्स आइडलको अडिसन सुरु भएको आइडल संयोजक खड्क बहादुर क्षेत्रीले जानकारी दिए ।
पहिलो चरणको अडिसनमा एक दर्जन बढीले नृत्य प्रस्तुत गरेको बताउँदै उनले दोस्रो चरणको अडिसन मंसिर ८ गते ११ बजेबाट हुने बताए ।
डान्स आइडलका प्रमुख निर्णायक हरिशरण रिजालले डान्स आइडल आफ्नो प्रतिभा देखाउने सुनौलो अवसर भएको बताउँदै यसैको माध्यम हुदै राम्रो डान्सर बन्ने बाटो खुल्दै जाने बताए । उनले प्रतिष्पर्धीलाई म्युजिक भिडियोदेखि लिएर राष्ट्रिय तहमा समेत स्थान दिने बताए ।
आइडलमा प्रथम हुनेलाई १ लाख २१ हजार १ सय २१ रुपैयाँसँगै चादीको टोपी, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
यता १४ औं कपिलवस्तु महोत्सवसँगै डान्स आइडललाई भव्य र सभ्य रुपमा सम्पन्न गर्ने गरी आफूहरु व्यापक सक्रिय भएर लागेको महोत्सवका संयोजक राजकुमार खाँणले बताए ।
महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाह दिनेशले महोत्सवसँगै डान्स आइडललाई विशेष र एतिहासिक बनाउने गरी वेयलफेयर र कपिलवस्तु वासीको पर्व महोत्वलाई सफल बनाउन सहयोग गर्न सबैमा अपिल गरे ।








