भैरहवा ।
रुपन्देहीका प्रमुख मार्गमा दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘राडार गन’ मार्फत सवारी साधनको गति मापन र कारबाही सुरु गरेको छ । जिल्लाका विभिन्न स्थानमा ‘राडार गन’ मार्फत गति जाँच थालिएको ट्राफिक प्रहरीले जनाएको छ । यसरी गति परीक्षण गरेर तीव्र गतिमा सवारी साधन चलाउनेलाई ठाउँका ठाउँ कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक बजिरसिंह विष्टले जिल्लाका विभिन्न स्थानमा आइतबारदेखि पुनः गति जाँच सुरु गरिएको जनाए । उनका अनुसार आइतबार पहिलो दिन तीव्र गतिमा गुडाइएका कार र मोटरसाइकल गरी ३२ र सोमबार ३५ वटा सवारी कारबाहीमा परेका छन् ।
‘जाडो याम सुरु भइसक्यो, साँझ–बिहान हुस्सुले सवारीलाई गति तय गर्न कठिन हुन्छ । यस्तोबेला तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक हुन्छ’, उनले भने, ‘तीव्र गति नियन्त्रण र दुर्घटना न्यूनीकरण गर्न लागिपरेका छौं ।’
ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि अभियान नै चलाएको बताउँदै यदि तीव्र गतिमा सवारी चलाएको पाइए ठाउँका ठाउँ कारबाही गरिने विष्टले बताए । उनले तीव्र गतिका कारण धेरै सवारी दुर्घटना हुने गरेको बताए । यस्ता दुर्घटनामा कैयौं नागरिकको ज्यान जाने गरेको छ ।








