गृहपृष्ठ Featured भैरहवाको सिद्धार्थनगरमा एकै रातमा ८ मोटरसाइकल चोरी

भैरहवाको सिद्धार्थनगरमा एकै रातमा ८ मोटरसाइकल चोरी

भैरहवा ।

सिद्धार्थनगर नपा–११ मा पर्ने सिसवा, भुजौली र पिपरैया गाउँबाट एकै रातमा आठवटा मोटरसाइकल चोरी भएका भएका छन् । स्थानीयवासीकाअनुसार, गत सोमबार राती ती गाउँबाट एक समूहले एउटै समयमा घर बाहिर पार्किङ गरेका आठ वटा मोटरसाइकल चोरी गरेको हो ।

पीडितले घटनाकोबारेमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा निवेदनसहितको जाहेरी दिएका छन् ।

‘राती सुत्ने बेलामा घर अगाडि मोटरसाइकल पार्किङ गरेको थिएँ’ मोटरसाइकल चोरीबाट पीडीतमध्येका एक सिद्धार्थनगर नपा–११ सिसवाका नफिस आलमले भने, ‘भोलिपल्ट बिहानै गाउँमा मोटरसाइकल चोरी भएको हल्ला जताततै भयो । हल्लाले ब्युँझेपछि उठेर हेर्दा मेरोपनि मोटरसाइकल चोरी भएको रहेछ ।’

आलमका अनुसार, सिसवा गाउँबाट ५ वटा, पिपरैयाबाट २ वटा र भुजौली गाउबाट १ वटा मोटरसाइकल चोरी भएको हो । सिसवा गाउँबाट आफ्नो सहित मुलचन्द चौधरी, असफाक आलम, महबुव आलम, अफताव आलम, भुजौली गाउँमा बेलास नामका व्यक्तिको र पिपरैया गाउँमा नातेदारको घरमा पाहुना बनेका दुइजनाको मोटरसाइकल चोरी भएको हो ।

तीनवटै गाउँमा संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालय रुपन्देही मार्फत् नालीसहितको पक्की सडक निर्माण गर्ने क्रममा सबैको घर अगाडिको कम्पाउण्ड पर्खाल भत्काइएकाले सबैले आफ्नो सवारी साधन घर अगाडि खुल्ला ठाउँमै पार्किङ गर्छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी भरतबहादुर बिकले उक्त चोरीको घटनाका बारेमा प्रहरीले गम्भिरताका साथ छानबिन र सोधखोज जारी राखेको बताए । शंकास्पद केही व्यक्तिलाई नियन्त्रणमा लिइ छानबिन गरिएको उनले जनाए ।

सम्बन्धित् समाचार