गृहपृष्ठ Featured बाँके राष्ट्रिय निकुञ्ज पर्यटन प्रवर्द्धन अभियानमा जुट्यो

बाँके राष्ट्रिय निकुञ्ज पर्यटन प्रवर्द्धन अभियानमा जुट्यो

बाँके ।

देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज १२औँ वर्षमा प्रवेश गरेसँगै पर्यटन प्रवर्द्धन अभियानमा जुटेको छ । सन् २०१० जुलाई १२ मा नेपालको दशौँ राष्ट्रिय निकुञ्जका रूपमा स्थापित उक्त निकुञ्जमा पर्यटन प्रवर्द्धन गर्ने रणनीतिका साथ काम थालिएको छ ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाहका अनुसार यस वर्षभरि नयाँ मार्ग निर्माण गर्ने र निकुञ्ज परिसरलाई सजाउने योजना छ । उनले भने, “हाम्रो उद्देश्य निकुञ्जमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउने  छ । यसका लागि निकुञ्जमा नयाँ मार्ग निर्माण गर्दै छौँ ।” पर्यटन प्रवर्द्धनका लागि विस्तृत योजना बनाउँदै गरेको उल्लेख गर्दै वरिष्ठ संरक्षण अधिकृत शाहले त्यसलाई चाँडै कार्यान्वयनमा ल्याइने बताए ।

बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को आयोजना तथा निकुञ्जको सहकार्यमा सोमबार बर्दिया र बाँकेका पर्यटकसँगै पर्यटन व्यवसायीलाई जङ्गल सफारी गराइएको थियो । नाट्टाका संयोजक श्रीराम सिग्देलले सम्भावना र पूर्वाधार हुँदाहुँदै पनि यसको प्रचारप्रसार गर्न नसकिएको बताए ।

“निकञ्जबारे तीनै तहका सरकारले चासो दिन आवश्यक छ । बाँकेमा निकुञ्जसँगै अन्य धेरै पर्यटकीयस्थल छन् । ती सबैको विकासका लागि ध्यान दिन जरुरी छ”,  उनले भने ।

निकुञ्ज पाँच सय ५० वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । यसको तीन सय ४३ वर्ग किमी मध्यवर्ती क्षेत्रभित्र पर्छ । निकुञ्जभित्र पूर्व पश्चिम क्षेत्र ७२ किमी र कोहलपुर बबई रत्नराजमार्ग ३० किमीको रहेको छ । बाघको वासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले स्थापना गरिएको यो निकुञ्ज बर्दिया, दाङ र सल्यानसँग जोडिएको छ ।

सम्बन्धित् समाचार