वीरेन्द्रनगर ।
ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको घटनालाई लिएर शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगर तनावग्रस्त बनेको छ।
प्रदर्शनमा विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा मृतकका आफन्तहरू सहभागी छन्। आन्दोलनकारीले टायर बाल्ने काम पनि गरिरहेका छन्। आन्दोलन भइरहेको ठाउँमा प्रहरी तैनाथ छ। आन्दोलनको अगुवाइ गरिरहेका नवीन योगीले सडकका सवारी साधन चलाएको खण्डमा जुनसुकै घटना पनि हुनसक्ने चेतावनी दिएका छन् । आन्दोलनकारीले घटनाका दोषीलाई कारबाही गर्नुपर्ने पनि माग राखेका छन्।
वैदेशिक रोजगार विभागअन्तर्गतको इपीएस कोरिया शाखाको एउटा हचुवा निर्णयका कारण शुक्रबार दुई युवकको ज्यान गएको थियो। मंसिर १९ गतेदेखि आन्दोलनरत युवामध्ये १८ जनालाई मात्रै आवेदन भर्न इपीएस शाखाले बिहीबार आह्वान गरेपछि अन्य युवाहरू भड्किएका थिए।








