बाजुरा ।
जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिमा सुत्केरीको मृत्यु भएको छ। हुम्लाको ताँजाकोट गाउँपालिका-५ डोप्ककी २३ वर्षीया अन्सु बुढाको उपचारका क्रममा हिजो राति मृत्यु भएको हो।
यही पुस १२ गते ताजाँकोट गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिलता देखिएपछि परिवारले थप उपचारका लागि मदना स्वास्थ्य संस्थामा लगेका थिए। सुत्केरी भएको ११ दिनपछि उनलाई श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि थप उपचारका लागि स्वास्थ्य संस्था लगिएको उनका ससुरा जीतबहादुर बुढाले बताए।
उनले सुत्केरी भएदेखि बुहारी र नातिनीको स्वास्थ्य अवस्था ठीक भए पनि एक्कासि बुहारीलाई ज्वरो आएको र टाउको दुख्यो भने पछि उपचारका लागि स्वास्थ्य संस्था लगिएको बताए। सुत्केरी अवस्थामै समस्या देखिएपछि बुढालाई उपचार सम्भव नहुने भन्दै मदाना स्वास्थ्य केन्द्रले सुविधा सम्पन्न ठाउँमा लैजान रेफर गरेको थियो।








