गृहपृष्ठ Featured ढोरपाटनसहित उच्च स्थानमा हिमपात : किसान खुसी

ढोरपाटनसहित उच्च स्थानमा हिमपात : किसान खुसी

बागलुङ ।

ढोरपाटन लगायत उच्च पहाडी क्षेत्रमा बिहीबार दिउँसो हिमपात भएको छ । सेताम्मे हिउँले ढोरपाटन उपत्यका ढाकेको छ । त्यसबाहेक निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिकाका अधिकांश पहाडमा हिमपात भएको स्थानीयले बताए ।

हिमपातले किसानहरु खुसी भएका छन् भने चिसोले जनजीवन प्रभावित भएको छ । ‘लामो समयपछि हिउँ पर्दा गहुँ र जौ खेतीका लागि राम्रो भएको छ,’ निसीखोला गाउँपालिका-६ सीप की रबिना बुढामगरले भनिन्, ‘माघको पहिलो साता परेको भए झनै राम्रो हुन्थ्यो ।’

गहुँ र जौ खेतीका लागि हिमपातलाई किसानले मलको रुपमा लिने गर्छन् । हिमपातले मध्यपहाडी लोकमार्गको रुकुम सीमानामा पर्ने पातीहाल्नेमा पनि सेताम्मे भएको छ ।

हिउँ पर्दा चिप्लो हुने भएकोले बिहीबार उक्त क्षेत्रमा सवारी साधन नचलेको बुढाले बताइन् । हिमपातपछि गाईभैँसी चराउनेहरु प्रभावित भएका छन् ।

ढोरपाटन, निसेलढोर र पहाडी बस्तीका किसानले बिहीबार पशुचौपाया चराउन सकेनन् । चिसो बढेको र हिउँसँगै छिटफुट पानी समेत परेकोले उनीहरु गोठभित्रै बसेको ढोरपाटनका गंगाबहादुर भण्डारीले बताए ।

सम्बन्धित् समाचार