नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णु पौडेलले देश अफ्ठ्यारो स्थितिमा रहेको बताएका छन्। शनिबार रुपन्देहीमा भएको प्रेस चौतारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता-२०८० को अवसरमा बोल्दै उनले यस्तो बताएका हुन्।
अहिले देशको राजनीति बिग्रिरहेको दाबी गर्दै उनले राजनीति संग्लो नभएसम्म देश ठिक ढंगबाट अघि बढ्न नसक्ने जिकिर गरे।
सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिंग र भताभुंग भएको उनको भनाइ थियो।
उपाध्यक्ष पौडेल भन्छन् ‘देश धेरै अफ्ठ्यारो अवस्थामा छ। देशले धेरै ठूलो सफर गरिरहेको छ। जबसम्म राजनीति संग्लो हुँदैन। तबसम्म देश ठिक ढंगले अघि बढ्न सक्दैन। अहिले देशको राजनीति बिग्रिरहेको छ। खासगरी सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिंग छ। भताभुंग भएको छ। यसलाई लयमा फर्काउनु पर्ने ट्रयाकबाट हिँडाउनुपर्ने चुनौति र परिस्थिति छ।’
उपाध्यक्ष पौडेलले बिग्रिएको राजनीतिलाई लयमा फर्काउनु पर्ने चुनौतिपूर्ण परिस्थिति रहेको उल्लेख गरे।








