गृहपृष्ठ Featured भैरहवामा ‘साई ग्लोबल कप टी–२०’ क्रिकेट मंगलबारदेखि हुने

भैरहवामा ‘साई ग्लोबल कप टी–२०’ क्रिकेट मंगलबारदेखि हुने

भैरहवा । 

रुपन्देही क्रिकेट संघको आयोजनामा जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’ को दोश्रो संस्करण मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा जिल्लाका दुई दर्जनभन्दा बढी कलेज सहभागी हुनेछन् ।

एक सातासम्म संचालन हुने प्रतियोगिताको दोस्रो संस्करण फागुन ८ गते मंगलबारदेखि सुरु हुने संघका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिए ।

संघले आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो। ‘मुलुकको क्रिकेटमा रुपन्देहीले छुट्टै पहिचान बनाउन सफल छ, संघले क्रिकेटका लागि विकासमा स्कूल र कलेज स्तरका प्रतियोगितामा जोड दिइरहेको छ’, अध्यक्ष थापाले भने, ‘भविष्यका निम्ति नयाँ प्रतिभा उत्पादन गर्न निरन्तर लागिरहेका छौं ।’

उनका अनुसार संघले आफ्नो वार्षिक योजना अनुरुप विद्यालयस्तरीय प्रतियोगिता, प्रधानमन्त्री कप पुरुष क्रिकेट र तीन दिवसीय क्रिकेट प्रतियोगिता सफलता पूर्वक आयोजना गरिसकेको छ ।

जिल्लास्तरीय अन्तरकलेज प्रतियोगिता लगत्तै रुपन्देही सुपरलिग सुरु हुनेछ । अन्तरकलेज प्रतियोगितालाई साई ग्लोबल एकेडेमीले प्रमुख प्रायोजन गरेको छ । संघका सचिव संजय गुरुङका अनुसार प्रतियोगितामा विजेता टिमले नगद ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

सम्बन्धित् समाचार