रुपन्देही ।
रुपन्देहीमा होली मनाउने क्रममा भएका चार दुर्घटनामा १ जनाको मृत्यु भएको छ । प्रहरीले होली मनाउने क्रममा सवारी नियम उल्लंघन गरी चलाइएका ३१७ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले जिल्लाका विभिन्न स्थानमा गरेको चेकजाँचको क्रममा सवारी नियम उल्लंघन गर्ने मोटरसाइकलसँगै तीनवटा टेम्पो, दुई वटा कार र एउटा ट्रकलाई समेत नियन्त्रणमा लिएको जनाएको छ।
मृत्यु हुनेमा लु २० प ७६४१ नम्बरको मोटरसाइकल चालक सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ भैरहवा गाउँका ३९ वर्षीय प्रविन कँडेल रहेका छन्।
भैरहवाको डाडागाउँबाट अञ्चलपुर तर्फ जाँदै गरेका कँडेल सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
दुर्घटनामा परि गम्भीर घाइते भएका कँडेलको उपचारको क्रममा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवामा मृत्यु भएको हो । सोमबार प्रहरीले ठाउँ ठाउँमा सवारी चालकलाई मापसे पनि चेकजाँच गरेको थियो ।








