काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले माध्यमिक शिक्षा परीक्षा (एसईई) र विश्वविद्यालयको शिक्षामा वर्षमा दुई पटक भर्ना गराउने गरी नीतिगत प्रबन्ध गरिने बताएका छन् ।
अनुगमन शैक्षिक फाउन्डेसनले सोमबार आयोजना गरेको ‘नेपाल शिक्षा सम्मेलन २०२४’ को उद्घाटन सत्रमा उनले वार्षिक परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीको समय क्षति भई पढाइ छाड्ने वा उनीहरू अवसरको खोजीमा विदेश जाने प्रवृत्ति देखिएकाले त्यस्तो नीतिका लागि बहस भइरहेको बताए ।
कक्षा नौ देखि १२ कक्षामा ४३ प्रतिशत विद्यार्थी विद्यालय बाहिर हुन पुगेको, उच्च शिक्षामा १५ देखि २० प्रतिशत मात्रै विद्यार्थी भर्ना भएको र सवा लाख विद्यार्थी वार्षिक विदेश जाने स्थितिप्रति आफूहरू चिन्तित भएकाले नीतिगत पुनरावलोकन र संस्थागत सुधार आवश्यक भएको शिक्षा सचिव अधिकारीको भनाई थियो ।








