गृहपृष्ठ Featured लुम्बिनी प्रदेशमा बजेट अधिवेशन आह्वानको तयारी

लुम्बिनी प्रदेशमा बजेट अधिवेशन आह्वानको तयारी

बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार विश्वासको मत प्रयोजनका लागि प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्ने भएका छन् । संघीय सरकारमा गठबन्धन फेरिएसँगै कांग्रेसका मुख्यमन्त्री चौधरीलाई दिएको समर्थन माओवादीले फागुन २३ गते फिर्ता लिएका थिए ।

अल्पमतमा परेपछि चौधरीले प्रदेश सभाको हिउँदे अधिवेशन ३ दिन मात्र चलाएर चैत ४ गते अन्त्य गरिदिएका थिए । मुख्यमन्त्री चौधरीले अल्पमतमा परेको ३० दिन अर्थात चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ ।

लुम्बिनी प्रदेशको प्रदेशसभा नियमावली २०७४ को नियम १४३ (२) अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि प्रदेशसभामा छलफल हुनु भन्दा २ दिन अगाडि नै जानकारी दिनुपर्ने कानुनी व्यवस्था छ । त्यही कानुनी व्यवस्थाअनुसार विश्वासको म माथिको छलफलका लागि मुख्यमन्त्री चौधरीले मंगलबार अधिवेशन आह्वानसम्बन्धी निर्णय गर्ने र त्यसको जानकारी प्रदेश प्रमुखलाई गराउने तयारी गरेका हुन् । स्रोतका अनुसार उनले मंगलबार नै प्रदेशसभा सचिवालयमा बिहीबार विश्वासको मत लिने जानकारी गराउने पनि तयारी गरेका छन् ।

अधिवेशन आह्वानका लागि मुख्यमन्त्री चौधरीले मंगलबार बिहान ९ बजेटका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रदेश सरकारका गृह मन्त्री एवं प्रवक्ता सन्तोषकुमार पाण्डेयले अबको केही बेरमा मन्त्रिपरिषद बैठक बस्ने बताए । ‘बजेट अधिवेशन आह्वान गर्ने भन्ने जानकारी छ,’ उनले भने, ‘थप विषय मुख्यमन्त्रीज्यूले बैठकमै जानकारी गराउनु हुन्छ होला ।’ उनले पनि बिहीबारका लागि अधिवेशन आह्वान गर्ने र त्यही दिन बस्ने बैठकमा सरकारका विषय पनि जानकारी दिने बताए । मुख्यमन्त्रीनिकट स्रोतका अनुसार बहुमत नजुट्ने अवस्थामा बिहीबारको बैठकमा सम्बोधन गरेपछि मुख्यमन्त्रीले राजीनामा दिने मनस्थिति बनाएका छन् । तर, त्यसअघि पार्टीका नेता, कांग्रेसका तर्फबाट सरकारमा सहभागी भएका मन्त्री र प्रदेशसभा सदस्यसँग छलफल गर्ने मुख्यमन्त्री चौधरीको तयारी छ ।

सम्बन्धित् समाचार