गुलरिया ।
बर्दियाको गुलरियामा अवस्थित जिल्लाकै जेठो अस्पतालमा मिर्गौला रोगीहरूका लागि हेमोडायलासिस सेवा शुरू भएको छ । मंगलबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री दिपेन्द्र पुन मगरले सेवाग्राहीहरूलाई पर्चा वितरण गरी सेवा शुभारम्भ गरेका छन् ।
लामो समयदेखि प्राविधिकलगायत स्वास्थ्यकर्मीको अभावमा बर्दिया अस्पतालमै थन्किएको उपकरणहरूमार्फत सेवा सञ्चालन गरेपछि सेवाग्राहीहरू खुशी भएका छन् । बर्दिया अस्पतालका प्रमुख डाक्टर शुभाष पाण्डेयले बर्दिया अस्पतालमा निःशुल्क हेमोडायलासिस सेवा सुरू भएको जानकारी दिए ।
उनले भने,’ अब मिर्गौला बिरामीलाई डायलासिसको लागि जिल्ला बाहिर जानुपर्दैन ।’ लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री पुनले प्रदेश सरकारले मातहतका सबै स्वास्थ्य संस्थाहरूको स्तरोन्नति गर्दै सेवा प्रवाह चुस्त दुरुस्त बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।








