गृहपृष्ठ Featured बुटवलमा खानेपानीको अभाव !

बुटवलमा खानेपानीको अभाव !

बुटवल ।

बुटवल उपमहानगरपालिकामा खानेपानीको अभाव देखिएको छ । गर्मीमा स्वाभाविक रुपमा खानेपानीको माग बढेसँगै आपूर्तिमा सकस भइरहेको हो । बुटवलमा दैनिक झण्डै साढे ३ करोड लिटर खानेपानीको माग छ । तर, आपूर्ति भने दुईदेखि अढाई करोड लिटरसम्म हुने गरेको खानेपानी संस्थान बुटवलले जनाएको छ ।

खानेपानी संस्थान बुटवलका प्रमुख मोहन दत्त भट्टले तिनाउबाट दैनिक १ करोड लिटर र बुटवलका विभिन्न २१ वटा ट्युबवेल (बोरिङ) बाट १ करोड ५० लाख लिटर खानेपानी आपूर्ति गरिएको बताए ।

खानेपानीको अभावका कारण उपभोक्ताले ट्याङ्करबाट पानी मगाउने गरेका छन् । नेपाल खानेपानी संस्थान बुटवलले माग अनुसार पानीको आपूर्ति गर्न झुम्सा खानेपानी आयोजना निर्माण थालेको तीन दशक पुग्न थालेको छ । तर अहिलेसम्म उक्त आयोजना सम्पन्न हुन सकेको छैन ।
बुटवलको वडा नम्बर ७ र ८ मा पानीको सर्वाधिक अभाव छ । बुटवल उपमहानगरकी उपमेयर सावित्रीदेवी अर्यालले खानेपानीको समस्या लिएर उपभोक्ताहरू आउने गरेको बताइन् । कम्तीमा २ घण्टा भए पनि दैनिक धारामा पानी आउने व्यवस्था मिलाउन आफूले खानेपानी प्रमुखसँग आग्रह गरेको उनले बताइन् ।
खानेपानी संस्थान बुटवलका प्रमुख भट्टले गर्मीमा माग धेरै बढ्ने बेलामा खानेपानीको स्रोत ट्युबवेल (बोरिङ) बाट पानी कम आउने गरेका कारण व्यवस्थापनमा समस्या भएको बताए ।

सम्बन्धित् समाचार