गृहपृष्ठ Featured लुम्बिनी बौद्ध विश्वविद्यालयमा बेथिति मौलाउँदै

लुम्बिनी बौद्ध विश्वविद्यालयमा बेथिति मौलाउँदै

लुम्बिनी ।

रुपन्देहीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयका पदाधिकारीले आफू अनुकूल निर्णयका लागि ऐन/नियमावली परिमार्जन र संशोधन गरेको पाइएको छ ।

विश्वविद्यालयको प्रशासनिक प्रमुख रजिष्ट्रार नियुक्तिका लागि नियम संशोधन गरी अनुकूल छनोट समिति र मापदण्ड बनाइएको हो । कतिसम्म भने विश्वविद्यालयको शैक्षिक प्रशासन नियमावलीमा रहेको निमित्त रजिष्ट्रारको व्यवस्था नै संशोधन गरिएको छ । नियमावली संशोधन गरेर तेस्रो कार्यकाल रजिष्ट्रार नियुक्तिको दौडमा रहेका डा. तिलकराम आचार्यलाई नै निमित्तको जिम्मेवारी दिइएको हो ।

आचार्यको रजिष्ट्रारको दोस्रो कार्यकाल गत फागुन ३० गते सकिएको थियो । नियमावलीअनुसार निमित्त रजिष्ट्रारको जिम्मेवारी डिनले पाउनुपर्ने हो । तर आचार्यको अवधि सकिनु केही समयअघि नियम संशोधन गरियो । नियमावली संशोधन गरेर उपकुलपतिले विश्वविद्यालयमा कार्यरत जुनसुकै प्राध्यापकलाई तीन महिनाका लागि निमित्त जिम्मेवारी दिन सक्ने बनाइयो ।

त्रिभुवन विश्वविद्यालयलगायत अधिकांश विश्वविद्यालयमा रजिष्ट्रार पद रिक्त रहे डिन मध्येबाट निमित्तको जिम्मेवारी दिन सकिने व्यवस्था छ । तर लुम्बिनी बौद्ध विश्वविद्यालयमा भने कार्यकाल सकिएका रजिष्ट्रारलाई नै निमित्तको जिम्मेवारी दिने गरी संशोधन गरियो । आचार्य तेस्रो पटक रजिष्ट्रार बन्न नियमावली चलखेल गरी संशोधन गरिएको प्राध्यापकहरुले बताए ।

नियमावलीअनुसार उपकुलपतिले निमित्त तोक्ने सम्बन्धी प्रावधान संशोधनबारे विश्वविद्यालयका सभासदलाई अग्रिम जानकारी दिनुपर्नेमा गुपचुप गत फागुन १९ गते बसेको विश्वविद्यालयको १५ औं सिनेटसभा बैठकबाट पास गराएको पाइएको छ ।

उक्त सभाका एक सहभागीले सभासदले नियमावलीको उक्त व्यवस्था संशोधनका लागि छलफल नगरिएको बताए । विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले उक्त प्रस्ताव सभामा लगेर संशोधन पारित गराएका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित सभा एजेन्डाभन्दा नयाँ निर्माण गरिएका भवन उद्घाटनमा केन्द्रित थियो । त्यस्तो बेला सभामा एजेण्डामाथि ब्यापक छलफल सम्भव नभएको सहभागीले बताए ।

सम्बन्धित् समाचार