पाल्पा ।
शनिबार रातिको वर्षाले पहिरो खसेर अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक खण्ड पाँच घण्टापछि पुन: सञ्चालनमा आएको छ ।
राजमार्गको तिनाउ गाउँपालिका–३, दोभानको पैठेडाँडादेखि सिद्धबाबा मन्दिरसम्म चार स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । दाभोन प्रहरी चौकीका अनुसार पहिरो खसेर आइतबार बिहान ३ बजेदेखि अवरुद्ध बनेको राजमार्ग पहिरो पन्छाएर सञ्चालन गरिएको छ ।
निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध भएको दोभानका स्थानीय विष्णुप्रसाद पाण्डेयले जानकारी दिए । बिहानैदेखि ठूला मेसिन प्रयोग गरी पहिरो पन्छाइएको हो। राजमार्ग अवरुद्ध भएपछि सडकमा सयौं सवारी साधन अलपत्र परेका थिए । बुटवलदेखि पाल्पालगायत पहाडी जिल्लाका साथै पहाडबाट तराई झर्ने सवारी साधन र यात्रु अलपत्र परेकालाई गन्तव्यमा पठाइएको प्रहरीले जनाएको छ ।
शनिबार रातभर मुसलधारे पानी परेपछि कचलतर्फबाट बगेको दोभान खोला र तिनाउ खोलामा बाढी आएको दोभानका स्थानीय राजेश श्रेष्ठले बताए । तिनाउ खोला क्षेत्रमा भन्दा कचल दोभान खोला ठूलो बगेको उनले बताए ।








