पाल्पा ।
असार अन्तिम साता वर्षाका बीच सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा खण्डमा कालोपत्र गरेको तीन दिन पनि नबित्दै उप्किएको छ । तिनाउ गाउँपालिका–३ दोभान बजार क्षेत्रमा सडक डिभिजन कार्यालय अन्तर्गत ठेक्का लागेको कालोपत्र रुखको बोक्रा जस्तै उप्किएको स्थानीयले बताएका छन् ।
यहाँ जीवन ब्रदर्श कन्ष्ट्रक्सनले काम गरेको हो । सडक डिभिजनका कर्मचारी र निर्माण व्यवसायीको लापरवाहीले तीनदिनमै कालोपत्र उप्किएको स्थानीय विष्णु प्रसाद पाण्डेयले बताए । ‘हामीले झरी लागेपछि कालोपत्रे नगर्न आग्रह पनि गरेका हौं,’ उनले भने, ‘तर कर्मचारी र निर्माण व्यवसायीले हाम्रो कुरालाई सुनेनन् ।’
सिद्धार्थ राजमार्गको दोभानदेखि राम्दीसम्मका यसैवर्ष मर्मत गरेको कतिपय स्थानमासमेत कालोपत्र उप्किन सुरु भइसकेको छ । भालुखोला, धेरैनी, पिपलडाँडा, सीता पहाडलगायतका स्थानमा पनि मर्मत गरेका स्थानमा भत्किन सुरु भइसकेको छ । घाम लागेका महिनामा निर्माण व्यवसायीले काम नगर्ने र बिल भुक्तानीका लागि पानी पर्न सुरु भइसकेपछि असारको अन्तिममा काम गर्दा कालोपत्र नटिक्ने समस्या भएको हो ।
सिद्धार्थ राजमार्गको दोभान बजार क्षेत्रका साथै तानसेनको लामडाँडामा पानी परेका बेला कालोपत्र गरेपछि स्थानीयले विरोध जनाएका थिए । असार २५ देखि २८ सम्म पानी परेको समयमा समेत कालोपत्र गरेपछि स्थानीयले सडक डिभिजनका कर्मचारीको लापरवाही भएको गुनासो गरेका हुन् ।
‘घाम लागेका महिना खाल्डा बनाएर राख्ने काम भयो,’ तानसेन–७ का जयबहादुर थापाले भने, ‘वर्षा लागेपछि बल्ल कालोपत्रको काम गर्दा अहिले यो टिक्नेमा समस्या देखिएको छ ।’ मर्मतको काममा सरफेस नमिलेको स्थानमा पानी जमेको र पानी परेर आत्तिएर काम गर्ने श्रमिक हिडेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले बताए ।








