रुपन्देही ।
लुम्बिनीमा सरकारको नेतृत्व र मन्त्री छनौटका विषयमा सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरुबीच तीव्र विवाद देखिएको छ ।
तर,सरकारको नेतृत्व र मन्त्री छनौटकाे विषयलाई लिएर अहिले दुवै पार्टीमा खैलाबैला भएको छ । दुवै पार्टीमा रहेका नेतापिच्छेका समूहले अर्को समूहलाई नेतृत्व र छनौटका विषयमा आलोचना गर्न थालेका छन् ।
एमाले संसदीय दलका उपनेता नेकपा एमालेका चेतनारायण आचार्यको नेतृत्वमा सरकार गठन गर्ने पार्टी केन्द्रको निर्देशनपछि संसदीय दलका नेता लिला गिरी र उनको समूह असन्तुष्ट बनेको छ ।
पार्टी नेतृत्वले आफूलाई कुनै सूचना नदिई विधि र पद्धति मिचेर उपनेतालाई नेतृत्वमा पठाएको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै असन्तुष्टि जनाएका थिए ।
एमालेले यसअघि पनि प्रदेशको नेतृत्वको विषयमा केन्द्रबाट नै निर्णय गर्ने गरेकाले अहिले पनि त्यसै गरिएको तर त्यसको विषय प्रदेश कमिटी र सम्बन्धित व्यक्तिलाई जानकारी समयमा दिन नसक्दा नै समस्या भएको एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल बताउँछन् ।
उनले संसदीय दलको नेताबाट राजीनामा दिएका छन्। प्रमुख सचेतक तुलसी चौधरीले पनि दलको नेताले राजीनामा दिएपछि आफूनो पद पनि स्तहः जाने कानुनी व्यवस्था रहेको बताए ।
संसदीय दलका नेता तथा पार्टी पोलिटब्युरो सदस्य लिला गिरी र उपनेता तथा केन्द्रीय सदस्य चेतनारायण आचार्य दुवैले मुख्यमन्त्री दावेदारी गरेका थिए । गिरीलाई रोकेर संसदीय दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउन पार्टी केन्द्रबाट निर्देशन आएपछि गिरी पक्षका नेता तथा कार्यकर्ताहरूमा असन्तुष्टि देखिएको हो।








