गृहपृष्ठ Featured जापानमा शक्तिशाली आँधी

जापानमा शक्तिशाली आँधी

जापानमा शक्तिशाली आँधीका कारण बिहीबार ३ जनाको ज्यान गएको छ । आँधीका कारण आइची प्रिफेक्चरको गामागोरी सहरमा पहिरोमा परेर एकै परिवारको तीन जनाको ज्यान गएको हो ।

जापान टुडेका अनुसार मृत्यु हुनेहरू दुईजना करिब ७० वर्ष उमेर समूहका दम्पती र उनीहरूका ३० वर्षीय छोरा छन् । परिवारका अन्य दुई सदस्यको उद्धार गरिएको बताइएको छ । कागोसिमा र मियाजाकीमा कम्तीमा ४० जना घाइते भएको बताइएको छ ।

आँधीका कारण २ लाख ५४ हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति बन्द भएको छ । दक्षिणी जापानमा सयौं उडान रद्द भएका छन् । जसका कारण कम्तीमा २५ हजार मानिस प्रभावित भएको जनाइएको छ । जापान एयरलाइन्सले १ सय ७२ वटा आन्तरिक तथा ६ वटा बाह्य उडान रद्द भएका जनाएको छ ।आँधीले सयौं घरका छाना उडाएको छ भने दर्जनौं रुख ढलेका छन् । दक्षिणी भेगका राजमार्गहरू अवरुद्ध भएका छन् भने उच्च गतिको केही रेल सेवा पनि बन्द गरिएको छ । आँधीका कारण टोयोटा, निशानलगायत मुख्य कार निर्माताहरूले कारखाना बन्द गरेको जनाएका छन् ।

जापानी मौसम विभाग (जेएमए) का अनुसार दक्षिणी जापानको क्युसु टापुमा सानसान आँधी स्थानीय समयअनुसार बिहान ८ बजेतिर आइपुगेको थियो । टापुमा प्रतिघन्टा २५२ किमिको गतिमा आँधी चलेको थियो । त्यसअघि जेएमएले आँधीबारे विशेष चेतावनी जारी गरेको थियो ।

क्युसुका कतिपय क्षेत्रमा पछिल्लो २४ घण्टामा ६०० मिलिमिटर पानी परेको थियो । जेएमएले शुक्रबार बिहानदेखि ४८ घण्टामा ११ सय मिलिमिटर वर्षा हुने पूर्वानुमान गरेको छ ।

सम्बन्धित् समाचार