गृहपृष्ठ Featured लुम्बिनी प्रदेशमा अपांगता निर्देशक समिति बनाइने

लुम्बिनी प्रदेशमा अपांगता निर्देशक समिति बनाइने

बुटवल ।

लुम्बिनी प्रदेशमा अपांगता निर्देशक समिति बनाइने भएको छ । राष्ट्रिय अपांग महासंघ नेपालको माग अनुसार प्रदेश सरकारले अपांगहरूको माग सम्बोधन गर्ने गरी अपांगता निर्देशक समिति बनाउन लागिएको हो ।

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक विकास मन्त्रालयमार्फत प्रदेश अपांगता निर्देशक समिति बनाइने बताए । अपांगता निर्देशक समिति बनाउनु पर्ने, अपांगता भएका व्यक्तिहरूका क्षेत्रका लागि प्रभावकारी नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्ने, राज्यका हरेक निकायमा अपांगता भएका व्यक्तिहरूलाई उनीहरूको योग्यता र क्षमता अनुसारका अवसर प्रदान गर्नु पर्ने लगायतका मागसहित राष्ट्रिय अपांग महासंघले आइतबार मुख्यमन्त्री आचार्यलाई ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश समन्वय समिति वा अपांगता प्रदेश निर्देशक समिति गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन २०७४ को दफा ४१ अनुसार प्रदेशहरूले प्रदेश समन्वय समिति अर्थात् प्रदेश निर्देशक समिति गठन गर्ने अधिकार दिएको छ ।

तर, लुम्बिनीमा निर्देशक समिति नबनेको र अब सरकारले बनाउनुपर्ने राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेशले माग गर्दै आएको छ । ‘तपाईंहरूले उठाएका माग र समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छ । निर्देशक समिति छिट्टै नै बनाउने छौं,’ ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री आचार्यले भने, ‘अन्य संरचनागत सुधार गर्न पनि प्रदेश सरकार तयार छ ।’ अपांगता भएका व्यक्तिहरूका हक अधिकार सुनिश्चित गर्न नीतिगत सुधार गर्ने प्रयासमा प्रदेश सरकार रहेको उनले बताए ।

सम्बन्धित् समाचार