भक्तपुर ।
भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टका नाममा रहेको एक सय आठ रोपनी जग्गा ख्वप विश्वविद्यालय स्थापनाका लागि प्रयोग गर्ने गरी उपलब्ध गराउन माग गरिएको छ ।
नेपाल मजदुर किसान पार्टीका सचिव सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको प्रतिनिधि टोलीले सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसमक्ष मागपत्र दिँदै भक्तपुर नगरपालिकाले सञ्चालन गर्न लागेको ख्वप विश्वविद्यालयका लागि नेपाल ट्रष्टका नाममा रहेको उक्त जग्गा विश्वविद्यालय सञ्चालन गर्न नगरपालिकालाई उपलब्ध गराउन माग गरेको हो ।
मन्त्री अधिकारीले देशैभरि नेपाल ट्रष्टका नाममा रहेका जग्गाको खोजीकार्य भइरहेको बताउँदै ट्रष्टको नाममा रहेका जग्गा संरक्षण र सदुपयोग गर्ने नीतिअनुसार सरकार अगाडि बढेको उल्लेख गरे ।
उनले नेपाल ट्रष्टको स्वामित्व कायम हुनेगरी उक्त जग्गा उपयोग गर्ने विषयमा आफू सकारात्मक रहे पनि ट्रष्टको नीतिअनुसार उक्त जग्गा नगरपालिकालाई दिन मिल्ने वा नमिल्ने भन्नेबारेमा अध्ययन गरेर मात्रै निर्णय गरिने बताए ।
ट्रष्टको स्वामित्वमा रहेको जग्गा व्यापारिक वा सेवामूलक भाडामा दिने विषयमा आवश्यक छलफल गरिने प्रतिनिधिसभाका सांसदसमेत रहेका सुवालले जानकारी दिए । उनले सल्लाघारीस्थित उक्त जग्गामा देशविदेशका विद्यार्थीलाई अध्ययन अनुसन्धानका लागि ख्वप विश्वविद्यालय सञ्चालनको अवधारणालाई अगाडि ल्याइएको बताए ।








