घोराही ।
घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयले चालू शैक्षिक सत्रदेखि कक्षा ११ मा व्यवस्थापनतर्फ कोरियन भाषा विषय पढाउन सुरु गरेको छ । विद्यालयले नै यस्तो पाठ्यक्रम सुरु गरेको हो ।
व्यवस्थापनतर्फ कक्षा ११ मा भर्ना भएकामध्ये ५५ जना विद्यार्थीले कोरियन भाषा शिक्षालाई शैक्षिक योग्यताको आधारस्तम्भका रूपमा लिएर पढ्न थालेका छन् ।
तीस जना छात्र र २५ जना छात्राले कोरियन विषय रोजेर पढ्न सुरु गरेकाले आगामी दिनमा यो विषयको माध्यमबाट विद्यार्थीको आकर्षण बढ्ने विद्यालयले अपेक्षा गरेको छ । यस विद्यालयमा हाल दुई हजार एक सय ७१ विद्यार्थी अध्ययनरत छन् । विद्यालयले विज्ञान, व्यवस्थापन, शिक्षा र कृषि डिप्लोमाको पठनपाठन गर्दै आएको छ ।
कोरियन भाषा विषयको पठनपाठन हुन थालेपछि व्यवस्थापनतर्फ भर्ना भएका विद्यार्थीमध्ये ५५ जनाले अहिले कोरियन भाषा विषयको कक्षा लिइरहेको मावि नारायणपुरका प्रधानाध्यापक उत्तमकुमार खनालले जानकारी दिए ।








