विश्व पर्यटन दिवसमा अवसरमा शुक्रबार बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले पर्यटकलाई खादा र नेपाली ढाका टोपी लगाइदिएर स्वागत गरेका हुन् ।
जापनीज नागरिक यूकु शान, भारतीय विद्या बाग्दी र सुनिल बाग्दीलाई स्वागत गरिएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले लुम्बिनी देशकै गौरव भएकाले यसको विकास र प्रवर्द्धनका लागि प्रदेश सरकार साथमा रहने प्रतिबद्धता जनाए । लुम्बिनी विकास कोषसँग मिलेर अगाडि बढ्ने उनको भनाइ छ ।
यस्तै लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाले ३६५ दिन नै पर्यटकहरूलाई स्वागत सत्कार गर्ने वातावरण बनाउनुपर्ने बताए । विदेशीसँगै स्वदेशी पर्यटकहरूलाई समेत लुम्बिनीमा स्वागत गर्दै यसको प्रवर्द्धनमा एकजुट भएर लाग्न उनको आग्रह थियो । बुद्ध जन्मस्थल लुम्बिनी नेपालसँगै विश्वका बौद्ध सम्प्रदायको समेत आस्थाको केन्द्र भएकाले आफू आएपछि लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गरेको उनको भनाइ छ ।
लुम्बिनी होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष लिलामणि शर्माले लुम्बिनीको पर्यटनबाट देशलाई नै समृद्ध बनाउन सकिने बताए । उनले पर्यटन दिवससँगै लुम्बिनीमा पर्यटनहरूको आवागमन वृद्धि गर्ने कार्ययोजना ल्याउन पर्यटनमन्त्रीसँग आग्रह गरे ।
‘पर्यटन र शान्ति’ भन्ने नारासहित मनाइएको पर्यटन दिवसमा लुम्बिनीमा ‘यात्रा, अध्यात्म र चिन्तनमार्फत शान्तिको प्रवर्द्धन गरौँ’ नारा तय गरी मनाइएको लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बताए ।








