बुटवल ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले चाडपर्व सुरक्षा योजना २०८१ ल्याएको छ । ‘सुरक्षित गाउँ सहर, प्रदेश प्रहरीको रहर’ भन्ने नाराका साथ दसैँ, तिहार, छठ पर्व केन्द्रित सुरक्षा योजना ल्याएको लुम्बिनी प्रहरी कार्यालयका प्रमुख एवं डीआईजी कुबेर कडायतले बताए ।
लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा चाडपर्वमा ७ हजार ६४४ प्रहरी परिचालन गरिने उनको भनाइ छ । २६ प्रकारको ड्युटीको नाम दिएर चाडपर्वको अवसरमा ती प्रहरी जनशक्ति खटाइने उनले बताए ।
डीआईजी कडायतका अनुसार सीमा नाकामा प्रहरीका तालिमप्राप्त कुकुर परिचालन गरी चेकिङ गर्नेदेखि धेरै भिडभाड हुने ठाउँमा ड्रोन क्यामेरासमेत प्रयोग गरेर निगरानी बढाउने योजना छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा चाडपर्वको सुरक्षा योजना अन्तर्गत १०५ स्थानमा ‘क्युआरटी’ (क्वीक रेस्पोन्स टिम) बनाइएको छ । उक्त टिममा ४७४ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । बैंक तथा वित्तीय कारोबार धेरै हुने ४८ स्थानमा २१८ जना प्रहरीलाई खटाइएको प्रदेश प्रहरी कार्यालयको भनाइ छ ।