राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले कृषि उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्ने कुरामा सरकारले जोड दिनुपर्ने बताएकी छन् ।
तरहरामा रहेको प्रादेशिक कृषि अनुसन्धान केन्द्रको शुक्रबार र शनिबार अवलोकन गर्दै बढ्दो आयातलाई आयात प्रतिस्थापन गर्नका लागि कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिइन् ।
उपाध्यक्ष घिमिरेले नेपालमा कृषि उत्पादन बढाउन सकिने ठुलो सम्भावना भएपनि आयातमा निर्भर रहनु विडम्बना भएको भन्दै सबैखाले कृषि उत्पादन बढाउनका लागि योजना र कार्यक्रम तय गरिनुपर्ने बताइन् ।
‘नेपालमा कृषि उत्पादन बढाउने सम्भावना छ । तर उत्पादन बृद्धि र आयात प्रतिस्थापन प्रमुख चुनौतीको रुपमा देखिएको छ’, उनले भनिन्, ‘खाद्यान्न, फलफूल, दुध र मासु उत्पादन बढाउन सकेमा वैदेशिक ब्यापार घाटा धेरै घटेर जानेछ।’
तीनै तहका सरकारको प्रमुख जोड नै कृषिमा आयात प्रतिस्थापन गर्ने र निर्यात बढाउने हुनुपर्ने उनको भनाइ थियो ।








