सागर वि.क., वैखरी अनलाईन ।
संयुक्त प्रयासबाट मात्र सुर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न सम्भव रहेको कुरामा सरोकारवालाहरुले बताएका छन् । सोमबार सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमन सम्बन्धि भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले आफुबाटै सुरु गरेर समाजका हरेक सरोकारवालाहरुले त्यसको थालनी गर्नुपर्नेमा जोड दिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निति तथा योजना महाशाखाका प्रमुख पुष्पराज पौडेलले नेपालमा पछिल्लो तथ्याङ्क अनुसार २८.९ प्रतिशत मानिस सुर्तिजन्य पदार्थ प्रयोगकर्ता रहेको जानकारी गराए । त्यसमध्ये नेपालका सात प्रदेशमध्ये लुम्बिनी प्रदेश सबैभन्दा बढी र मधेश प्रदेश कम प्रयोगकर्ता भएको प्रदेशका रुपमा रहेको तथ्याङ्कले पुष्टि गरेको उनले बताए ।
सुर्तीजन्य पदार्र्थको नियन्त्रण सम्बन्धि नितिगत दस्तावेजबारे बताउँदै उनले सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्दा यसको प्रयोगको दरमा ह्रास आएको बताए । यसको नियन्त्रण सम्बन्धि रहेका ऐन, नियमावलीको कमजोर कार्यान्वयनले अपेक्षित लक्ष्य हासिल हुन नसकेको उनको भनाई छ । उनले अपेक्षित लक्ष्य हासिल भए दिगो विकासका लक्ष्य प्राप्त गर्न सहज हुने बताए ।
कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरेले सुर्तिजन्य पदार्थको प्रयोगले आर्थिकसंगै शारीरिक, मानसिक, सामाजिक हरेक तवरले नकारात्मक असर गर्ने भएकाले सबै सचेत हुनुपर्ने बताए । यसको प्रयोगलाई नियन्त्रण गर्ने जिम्मेवारी आफुले प्राप्त गरेकाले यस सम्बन्धिका ऐन, नियमको दायरामा रहेका काम गर्ने उनले प्रतिवद्धता जनाए ।
बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत भक्तिराम मरासिनीले हरेक पालिकामा आआफ्नै ऐन नियमहरु रहँदा यस नियन्त्रणमा चुनौति देखिएको बताए । कुनै पालिकाले ब्रान्डिङ र कुनै पालिकाले निषेधित गर्ने क्रम रहेकाले समेत समस्या सिर्जना भएको उनको भनाई छ ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष किरनमान बज्राचार्यले राज्यकै नितिका कारण सुर्तिजन्य पदार्थको प्रयोग बढेको बताए । राज्यको कर असुल्ने नितिकै फलस्वरुप यो अवस्था सिर्जना भएको उनको भनाई छ ।
सो कार्यक्रममा डाक्टर हेमराज पाण्डेले सुर्तीजन्य पदार्र्थको नियन्त्रण सम्बन्धि रहेका नितिगत र कानुनी व्यवस्था चर्चा गरेका थिए ।








