काठमाडौं ।
दशैँ सुरु भइसकेको छ। जसरी दशैंलाई रातो टीका र जमारा लगाई मान्यजनसँग आशीर्वाद लिने पर्वको रूपम लिइन्छ, त्यसैगरी दशैँलाई टन्न मासु खाने पर्वको रूपमा पनि लिने गरिन्छ।
त्यसैले दशैँको खास विशेषता भनेकै विभिन्न प्रकारका मासुको प्रकारहरू पकाएर खानु पनि हो। तर लामो समय बिदा हुने घरमै बसेर मासु सहितका अन्य परिकारहरू आवश्यकताभन्दा बढी खाने गर्नाले दशैँपछि धेरैजसो मानिसहरू विभिन्न प्रकारका स्वास्थ्य समस्या लिएर अस्पताल जाने गरेको पाइन्छ।
आवश्यकताभन्दा बढी खाएर स्वास्थ्यलाई समस्यासँग जुध्नभन्दा दशैँको समयमा मासु लगायतका खानपानमा विशेष सावधानी अपनाउन सकियो भने धेरै राम्रो हुन्छ। शरीरले थेग्नेभन्दा बढी र अस्वस्थ्यकर खानपानले रोग निम्त्याउँछ। भनिन्छ नि, खान नपाएरभन्दा खान नजानेर धेरै मानिसको मृत्यु हुन्छ।
जथाभावी खानेकुरा खाँदा देखिन सक्छन् यस्ता समस्या
चाडपर्वको समयमा अत्यधिक खाइने माछामासु, कोक फ्यान्टा जस्ता खानेकुराले हाम्रो स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन प्रकारका सामान्यदेखि जटिल प्रकारका स्वास्थ्य समस्याहरू देखा पर्छन्। विशेषगरी दशैकोको बेलामा खाइने विभिन्न प्रकारका जनावर (राँगा, सुँगुर, कुखुरा, खसी) लगायतका मासुहरूको अत्यधिक सेवनले पेट तथा पाचन प्रणालीका समस्याहरू, अल्सर, प्यांक्रियाटाइटिस, फुड पोइजनिङ तथा ग्याष्ट्रिक जस्ता तत्कालीन पेटसम्बन्धी समस्या बढ्ने गरेको पाइन्छ।
भने दीर्घकालीन रूपमा मोटोपन बढ्ने, कोलेस्ट्रोलर मधुमेहका रोगहरू झनै बिग्रने मुटु तथा रक्तनलीका समस्या जस्तैः हृदयाघात, उच्च रक्तचाप, मस्तिष्कघात र दीर्घकालीन रूपमा प्यारालाइसिस समस्याहरू समेत निम्ताउने जोखिम हुन्छ। यी सबै खानपिन र जीवनशैलीसँग सम्बन्धित रोग हुन्।
यसले गर्दा पर्व र रमाइलोको रूपमा अस्वस्थ तरिकाले खाइने यस्ता खानेकुराले फाइदा हैन झनै बेफाइदा गरेको पाइन्छ। त्यसैले पर्वको समयमा खाइने माछामासु तथा अन्य परिकारहरु सेवन गर्दा मासु खाएपछि व्यायाम गर्ने, हिँडडुल गर्नु राम्रो हुन्छ। ग्यास्टिकले नसताओस् भन्नका लागि सकभर उसिनेको वा झोलयुक्त मासु खान लाभदायी हुन्छ।
यस्तै, सकेसम्म मासु तथा चिल्लोयुक्त खानेकुरा खाँदा पानी र सागसब्जी विभिन्न प्रकारका सलादहरू पर्याप्त मात्रामा खानु राम्रो हुन्छ।
मासु खाइसकेपछि असहज महसुस भएमा कागती पानी वा ज्वाँनो पानी खान सकिन्छ। यसले असहजता हटाउन मद्दत गर्छ। सकेसम्म बेलुकीको समयमा मासु कम खाएको राम्रो हुन्छ। यस्तै, प्रशस्त मात्रामा सलाद तथा पानी खान सकिन्छ। यसले हामीले खाएको खानेकुरालाई राम्रोसँग पचाउन मद्दत गर्छ।








